गोरखामा कोरोना पाेजेटिभ देखिएका दुईलाई गाउँघर परिक्रमा

गोरखा । कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विद्या तामाङको लापरवाहीका कारण कोरोना पोजेटिभहरु निर्वाध गाउँघर डुले ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर मंगलबार घर पठाएको थियो ।

घर पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथी भाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु त्रसित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँ गाउँ पुग्न थालेको स्थानीयहरुले बताएका छन् ।

कोरोना भाइरस संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएको पाइएको छ । ‘हामी आफ्नो खेतबारी र घरबाट बाहिर निस्किएका थिएनौं, कोरोना पोजेटिभ भएकाहरु नै खुलेआम गफ गर्दै गाउँ डुलेपछि डर लाग्यो ।’ एक स्थानीयले भने ।

संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार बन्न नसकेको स्थानीय युवाहरुको भनाई छ ।

जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार गराईरहेका छन् । थप संक्रमित चार जना मध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *