काठमाडौंमा सरकार र पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी, विराटनगरमा पनि जागे युवा !

काठमाडौं । देशका विभिन्न जिल्लामा आज (बिहीबार) सरकारविरुद्ध प्रदर्शन गरिएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने लगायतका माग राखेर युवाहरु सरकारविरुद्ध उत्रिएका हुन् ।

काठमाडौंको बालुवाटार, पोखरा र विराटनगरमा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । पोखराका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नारा समेत लगाएका छन् । बालुवाटारमा भएको प्रदर्शनका क्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पारेको छ । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले पानीको फोहराले भिड नियन्त्रणमा लिएको थियो ।

उता पोखरामा प्रधानमन्‍त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । स्वतन्त्र युवाहरुले आह्‍वान गरेको यो प्रदर्शनमा सयौं युवा सहभागी थिए । प्रहरीले भिड व्यवस्थापन गर्न दुई जनालाई पक्राउ समेत गरेको छ ।

त्यस्तै यता विराटनगरमा कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै प्रदर्शनमा उत्रिएका छन् युवाहरु । प्रदर्शनमा उनीहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब समेत मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *