परदेशबाट फर्केकाको गुनासोः ‘हामी हिँडेको बाटो गाउँलेहरु हिँड्दैनन्’
काठमाडौं । बाजुराको खप्तड–छेडेदह गाउँपालिका वडा नम्बर १ काँडाका गणेश रावल रोजगारीको शिलशिलामा भारतको नयाँ दिल्ली बस्दै आएका थिए । विश्वभर फैलिएको कोरोना संक्रमण बढ्दै गएपछि भारतले लकडाउन गर्यो । लकडाउन लागू गरेसँगै रोजगारी पनि गुम्यो, जसोतसो २ महिनासम्म उतै बसे ।
लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न गर्न थाले र भारतबाट उनीसहित अन्य धेरै स्थानीय गाउँ फर्किए । गणेशसँगै आएका सबैलाई खप्तड–छेडेदह गाउँपालिका १ स्थित काँडा भवानी उच्च माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखियो । सम्भावित संक्रमणबाट जोगिन सरकारको निर्देशन अनुसार नै क्वारेन्टाइनमा बसेका उनलाई त्यहाँको व्यवस्थापन देखेर दिक्क लागेको छ । क्वारेन्टाइन त बेहाल अवस्थामा थियो नै, स्थानीयले गरेको व्यवहारबाट झनै दुखः लागेको गणेश बताउँछन् ।
क्वारेनटाइन नाम मात्रैको क्वारेनटाइन भएको त्यहाँ बसिरहेकाहरुको गुनासो छ । भारतलगायत अन्य स्थानबाट आएको करिब ७० देखि ८० जनासम्म काडाँ भवानीको क्वारेनटाइनमा बसिरहेका छन् तर, त्यहाँ क्वारेन्टाइनको मापदण्ड त टाढाको कुरा हो, आधारभुत आवश्यकता नै पूरा भएको छैन ।
रोजगारीका लागि प्रायः सबै युवा भारतमा छन् । भारतले बस तथा रेल सेवा सुचारु गरेसँगै घर फर्किनेहरुको भीड नै लाग्ने गरेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा झन् फितलो बन्दै गएको छ । ‘क्वारेन्टाइनमा दिइने खाना निल्नै नसक्ने हुन्छ । त्यसैले चाउचाउ र बिस्कुट खाने गरेको छु’ क्वारेन्टाइनमा रहेका एक युवाले मकालुखबरसँग भने, ‘नल–पराल र बोरा ओछयाएर भुँईमा सुत्नुपर्छ ।’
विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको सबै भन्दा बढी समस्या रहेको उनले बताए । ८० जनाका लागि एकमात्र धारा छ भने शौचालय पनि कम छ । सेनेटाइजर र साबुन घरबाटै मगाउनु परेको उनले बताए ।
दुर्गा भवानीमा बनाइएको क्वारेन्टाइको अवस्था पनि उस्तै छ, करिब ४० जना बसिरहेको क्वारेन्टाइनमा पानीको व्यवस्था छैन । सौचालय तथा व्यक्तिगत सरसफाइका लागि साबुन र सेनिटाइजरको समेत नदिइएको काठमाडौंबाट गएका हिक्मत रोकायाले गुनासो गरे ।
उनका अनुसार आवश्यक मापदण्ड पूरा नगरि बनाइएको क्वारेन्टाइमा सरकारले जारी गरेको निर्देशनको पालना भएको छैन । एक कोठामा एक जना अथवा आवश्यक दुरी कायम गरी बेडहरु राख्नुपर्ने भएपनि सबैलाई एउटैमा जोडिएका छन् । ‘सामाजिक दुरीको त पालना भएका छैन नै, एउटै कोठामा १०–१२ जना बस्नेगरी प्रबन्ध मिलाइएकाले सम्भावित संक्रमणका डर छ,’ उनले भने ।
यी त केही प्रतिनिधि उदारण मात्रै हुन् । गाउँपालिकामा बनाइएका अधिकांश क्वारेनटाइनको अवस्था यस्तै छ । यसरी मापदण्ड विपरित बनाइएका क्वारेन्टाईन त्यहाँ बसेका नागरिकलाई सास्ती मात्रै भएको छैन, सम्भावित संक्रमणको खतरासमेत बढाइदिएको छ ।
यता वडाअध्यक्ष विरबहादुर रावल भने क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी नभएको बताएका छन् । सम्पूर्ण स्रोत र साधनको प्रयोग गरी कुनैपनि कुराको कमी हुन नदिएको उनको दावी छ ।
गाउँपालिकाले आर्थिक क्षमता र वातावरणको अनुकुल नै क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था मिलाएको वडाअध्यक्ष रावलले बताए । ‘गाउँपालिकाको श्रोत साधनले जति धान्छ त्यसै अनुरुप धानिरहेका छौँ,’ उनले भने, क्वारेन्टाइनमा बस्नेको संख्या धेरै भएकाले केही कमजोरी भएको हुनसक्छ, त्यसको व्यवस्थापनमा हामी जुटिरहेका छौं ।’
स्थानीयको अवहेलना
क्वारेन्टाइनमा बसेकोहरुले स्थानीयहरुबाट अवहेलनासमेत सहनु परेको छ । अहिले बाहिरबाट आएकालाई हेर्ने दृष्टिकोण नै फरक भएको छ र उनीहरुलाई ‘कोरोना ल्यायो है’ भन्दै स्थानीयले अवहेलना गर्ने गरेका छन् ।
गाउँका पढेलेखेकाहरुबाटै यस्तो अवहेलना भएपछि झनै खिन्न बनाएको काठमाडौंबाट घर खप्तड–छेडेदह १ सेरागाउँ फर्किएका टेकबहादुर रोकायाको गुनासो छ । ‘जानेबुझेकाहरुबाटै पनि अवहेलना गर्ने काम भएको छ, गाउँलेले त झनै राम्रो व्यवहार गर्ने कुरै भएन,’ उनले दुखेसो पोखे ।
बाटोमा हिँड्दा पनि गाउँलेबाट अपहेलित हुनुपरेको उनले बताए । ‘बाटोमा हिँड्यो गाउँका मान्छेहरु कोरोना ल्यायो भन्छन्, साह्रै चित्त दुख्छ,’ उनले भने । उनकाअनुसार बसबाट ओर्लिएदेखि क्वारेन्टानसम्म पुग्दा गाउँलेहरुले आफू हिँड्ने बाटोसमेत हिँड्न दिएका छैनन् ।
वडा नम्बर १ का स्थानीय सडकदेखि साढे ४ घण्टाको पैदलयात्रापछि मात्रै गाउँको स्कुलमा बनाएको क्वारेन्टाइनमा पुग्ने गर्छन । त्यहाँसम्म पुग्न आफुहरुले थुप्रै सास्ती खेप्नुपरेको भारतबाट फर्किएका कृष्ण रावलले बताए । ‘हामी हिँड्नका लागि छुट्टै बाटो बनाएको रहेछ,’ उनले भने, ‘साविककै बाटो हिँड्न खोज्दा ठाउँ–ठाउँमा रहेका चिनेजानेकै आफन्तले नकारे र अर्काेबाटो भएर यहाँसम्म पुगेका छौं ।’
बाहिरबाट फर्कनेहरुका लागि सडकदेखि भारतबाट फर्केकालाई अर्कै बाटोबाट क्वारेनटाइन स्थल पुर्याउने गरेका छन् । उनीहरुका हिँडेको बाटो गाउँहरु हिँड्दैनन् । यतिमात्रै होइन भारत लगायत अन्य स्थानबाट घरफर्केकाहरुलाई पसलेहरुले सामान दिँदैनन् ।
बाहिरबाट आएकालाई कोरोना आएको हुन्छ, उनीहरुको पैसा समातेमा कोरोना सर्छ भन्ने मानसिकताले सामान नदिने गरेको हुन् । उनीहरुको पैसा गाउँमा साटिनै मुस्किल भएको छ ।
मानवीयता गुम्यो !
काठमाडौंबाट कैलाली टिकापुर फर्किएका रोमिन शाहीले सामाजिक सञ्जालमा स्टाटस् लेखे–‘महामारीका नाममा मानवीयता नगुमाऔं’ काठमाडौंमा कन्सल्टेन्सी सञ्चालन गरिरहेका उनले आफ्नै गाउँमा फरक व्यवहार पाए भने अन्यको अवस्था कस्तो होला ?
विदेश वा स्वदेशबाट गाउँघर फर्किदा भेटघाट गर्न आउँने आफन्तहरु नै अहिले देख्ने बित्तिकै भाग्ने गरेका छन् र गर्ने व्यवहारमा निकै परिवर्तन आएको छ । विश्व अहिले कोरोना महामारीसँग लडिरहेको छ यो मानवीयता देखाउने बेला हो तर, ग्रामिण बस्तीदेखि शिक्षित समाजबाटै अवहेलना रहनु परिरहेको छ ।
यो महामारीको बेला मानवीयता गुमाउनु हुँदैन । ‘म आएको बसको सिट क्षमता ३६ जनाको थियो, हामी जम्मा २१ जना थियौं, सकेसम्म एक्लाएक्लै बसेर सबैले सुरक्षित साथ स्वास्थ्य सतर्कता र सावधानी पूर्ण रुपमा पालना गरेको थियो । काठमाडौंबाट आउने सबै सुरक्षित बसेर आएका हुन्छन्,’ शाही लेख्छन्– ‘यता गाउँमा पुरै कोरोना लागेर आएको जसरी हेर्ने दृष्टिकोण देखियो, कतै हामीले सतर्कताको बहानामा कोभिड–१९ बाट संक्रमित नागरिक, तिनका परिवार र आफन्तलाई घृणा त गर्दै छैनौं ? तिनीहरुमाथि मानसिक यातना र अमानवीय व्यवहार त प्रदर्शन गरिरहेका छैनौं ? हेक्का राखौं, संसारमा मान्छेका लागि सबैभन्दा प्रिय जीव पनि मान्छे नै हो । महामारीका नाममा मानवीयता नगुमाऔं ।’