चीनका अर्थशास्त्रीले राखे महिलाले दुईभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव !
काठमाडौं । चीनस्थित सांघाईको फुदान विश्वविद्यालयका एक प्राध्यापक एवम् अर्थशास्त्री येव क्वांग एनजीले महिलाले दुई वा दुईभन्दा बढी अर्थात् बहुपति राख्न पाउने प्रस्ताव गरेका छन् । चीनमा देखिएको लैंगिक असमानता घटाउन उनले यस्तो प्रस्ताव गरेका हुन् ।
चीनले एक सन्तान नीतिमा परिवर्तन ल्याउँदै थप बच्चा जन्माउन दम्पतीहरुलाई विगत तीन वर्षदेखि प्रोत्साहन गरिरहे पनि जन्मदर कम छ । महिलाको तुलनामा पुरुषको संख्या बढी छ । यो असमानतालाई अन्त्य गर्न उनले महिलालाई बहु पति राख्ने अनुमति दिनुपर्ने सुझाव दिएका हुन् । बहुपति हुँदा बच्चाहरु धेरै जन्मिने उनको बुझाइ छ ।
चीनले दुई बच्चा जन्माउनेलाई कर छुटदेखि आवाससम्म आरक्षण पनि दिएको छ। गर्भपतन र सम्बन्ध विच्छेदमा पनि कडाई गरेको छ। सम्बन्ध विच्छेदका लागि कडा प्रावधान राखिएको छ। तैपनि चिनियाँ अधिकारी लैंगिक असमानता नियन्त्रणमा सफल भने हुन सकेका छैनन् ।
लैंगिक असमानताका कारण चीनको अवस्था खराब हुँदै गइरहेको छ । समस्या समाधान नभए सन् २०५० सम्म ३ करोड पुरुष अविवाहित रहने प्रक्षेपण गरिएको छ । एजेन्सी