लकडाउनले नछेकेको खैरहनीको विकास निर्माण, धमाधम जारी छ काम !
- ध्रुवराज खनाल
चितवन । चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम तीव्र रुपमा भईरहेको छ । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि सो रोगबाट बच्न सुरक्षा अपनाउँदै विकास निर्माणको काम भईरहेको खैरहनीका मेयर लालमणि चौधरीले बताए ।
संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र नगरपालिका तथा वडागत योजनाहरुको काम भइरहेकाे मेयर चौधरीको भनाइ छ । तर कालोपत्रे निर्माणको काम भने सम्पन्न हुन नसक्ने उनकाे भनाइ छ । कालोपत्रेका सब बेश र बेशको काम हुने भएपनि प्रि मिक्स गराउने काम भने नहुने देखिएको छ ।
नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार नगरमा पूर्वाधार विकास निर्माण कार्य ४ सय ५२ वटा रहेको छ । जस मध्ये अधिकांश सम्पन्न हुने उनले बताए । शुक्रबार सम्म २ सय १० वटा योजनाहरुको सम्पन्न भईसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । अन्य योजनाहरु भने सम्झौता भएर निर्माणका क्रममा रहेका छन् ।
खैरहनी वडा नम्वर ३ को वडा कार्यालय अगाडीको सडकमा ७५ लाख बराबरको आरसीसी ढलको काम भईरहेको छ । जसमा बागमती प्रदेश सरकारको ५० लाख र खैरहनी नगरपालिकाको २५ लाख रुपैयाँ समावेश छ ।
त्यस्तै नगरपालिका परिसरमा निर्माणाधिन सभाहलको काम पनि तीव्र भईरहेको छ । कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण भईरहेको हो । आगामी नगर सभा सोही हलमा आयोजना गर्ने गरि निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाकी अनुगमन समिति संयोजक समेत रहेकी उपमेयर सुनिता थपलियाले जानकारी दिइन् ।
त्यस्तै वडा नम्वर १ र ९ को वडा कार्यालय भवनको काम पनि तीव्र भईरहेको छ । खैरहनी ५ गौचरणमा मैदानमा पर्खाल लगाउने र फोहोर मैला व्यवस्थापनका लागि भवन निर्माण पनि भईरहेको छ । संघीय सरकारको ४० लाख र नगरपालिकाको ३२ लाख ५३ हजार लगानी छ । जहाँ फोहोरको वर्गिकरण गरेर फोहोर व्यवस्थापनको काम हुनेछ ।
त्यसैगरी खैरहनी ६ मा तरकारी तथा फलफुल संकलन तथा बिक्री केन्द्रको काम द्रुत गतिमा भईरहेको नगरपालिकाले जनाएको छ । खैरहनी १० मा वुढीराप्ती खोलामा पुल निर्माण यसै वर्ष सम्पन्न भईसकेको छ भने खैरहनी ३ को पटिहानी पुलको निर्माण कार्य अनितम चरणमा पुगेको छ । नगरमा संचालित योजनाहरुको निर्माणसंगै अनुगमन पनि भईरहेको छ ।
नगरपालिका उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन,सदस्य टिकादत्त इटनी लगायत प्राविधिकको टोलीले निरन्तर रुपमा अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ ।