सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौं। संविधान संशोधन विधेयकमा समाजवादीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्। संसद सचिवालयले मूल विधेयक मात्रै स्वीकृत गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

संसद सचिवालय स्रोतका अनुसार सभामुखले संशोधन सूचना अस्वीकृत गरेपछि कार्यसूची प्रकाशन भएको हो। विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ।

उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ। समाजवादीले गिरीलाई संशोधन फिर्ता लिन चेतावनी युक्त निर्देशन दिए पनि उनले फिर्ता लिन इन्कार गरेकी थिइन्।

उक्त संशोधन स्वीकारयोग्य नभएको भन्दै सभामुखले प्रमाणित नगरेका हुन्। पूरै दफा खारेजीको माग भएको तर विकल्प समेत प्रस्तुत नभएको, संविधानको आधार सिद्धान्त विपरीत रहेको भन्दै संशोधन प्रमाणित नभएको हो। सांसद गिरीले दर्ता गराएको संशोधन प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ विपरीत रहेको भन्दै सभामुखले निर्णय गरेका हुन्।

नियमावलीको ११२ (२) मा लेखिएको छ, ‘सभामुखले यस नियमको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अश्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ।’

संसद बैठक १ बजे बस्ने छ। बैठकले नेपालको नक्सा र निशान छाप अध्यावधिक गर्न संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक पारित गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *