वृद्धाको घर भत्काएर भित्रैबाट खानेपानी पाइप विस्तार गरियो
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ ले एक वृद्धाको घर भित्रैबाट खानेपानीको पाइप विस्तार गरेको छ । घरको दायाँबायाँ खाली जग्गा रहे पनि ९५ वर्षीय वृद्धाको घरनै फोडेर पाइप लाइन विस्तार गरिएको हो ।
आइतबार पार्वतीपुरमा ९५ वर्षीय दृष्टिबिहिन ती वृद्धा सुत्ने कोठा भत्काएपछि यसको विरोध सुरु भएको छ । वडा अध्यक्ष चित्रसेन अधिकारी आँफै संयोजक रहेको पार्वतीपुर खानेपानीको पाईप बिच्छाउने क्रममा ९५ वर्षीय वृद्धाको कोठामात्रै भत्काईएन उनको घरको गाह्रो समेत फोरियो । एक घर अनि त्यो घरभित्र रहेको सानो कोठा जहाँ दृष्टिबिहिन बृद्धा र अस्वस्थ रहेको उनका ५२ बर्षिय छोरा पदमराज अधिकारी बस्ने गर्दछन् ।
वृद्धा जन्मजात दृष्टिबिहिन तथा उनका छोरा अस्वस्थ रहेका छन् । उनिहरु जसोतसो गरि कोठामा बसेको भएपनि घरको गाह्रो भत्काएपछि घर समेत भत्किने जोखिममा परेको छ । खानेपानीको पाईपलाईन विस्तारको क्रममा घरको दायातर्फ थोरै भाग घुमाएको भए घर खन्न पर्ने अवस्था नआउने स्थानीय तथा अधिवत्ता नाराययण गिरी बताउछन् ।
यता वडा नम्बर २१ (क)वडा अध्यक्ष चित्रसेन अधिकारीले आफूबाट गल्ती भएको भन्दै सामाजिक सञ्जालमा आश्चर्य मानेका छन् । यो घटना कसरी भयो भनेर आफैलाईसमेत थाहा नभएको र सामाजिक सञ्जालमा फोटोहरु आएपछि मात्रै थाहा पाएको वडा अध्यक्षले बताएका छन् ।