सरिता गिरीलाई कारबाहीको तयारी, सांसद र पार्टी सदस्यबाट समेत हटाइने

काठमाडौं। समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद सरिता गिरीलाई कारबाही गर्ने भएको छ। पार्टीको ह्विप उल्लंघन गरेका कारण गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए।

गिरी नेपालको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन। उनले संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता गराएकी थिइन्। समाजवादी पार्टीले संशोधन फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर उनले मानिन्।

सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको आरोपसहित सांसद गिरीले मतदान अघि संसद् बैठकबाट बाहिरिएकी थिइन्। समाजवादी पार्टीका एक नेताका अनुसार गिरीले पार्टीको निर्णय विपरीत संसद्मा विधेयक प्रस्तुत गरेको र पार्टीको ह्वीपसमेत नमानेकाले कारबाही गरिनु पर्ने बताए।

समाजवादी पार्टी स्रोतका अनुसार पार्टीका नेताहरू काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने छ। अहिले पार्टी नेताहरू उपेन्द्र यादव विराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा छन्। पार्टीले तत्काल बैठक बसेर निर्णय गर्ने तयारी समेत सुरु गरेको स्रोतको भनाई छ। समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *