सत्तारुढ दलकी सांसदको गुनासोः ‘आफ्नै पार्टीको सरकारले फुटबल जस्तै दौडायो’

काठमाडौं। सत्तारुढ दल नेकपाकी सांसद नन्दा चपाईले जनताका विकासका योजनाहरू ल्याउँदा आफ्नै पार्टीको सरकारबाट फुटबल जस्तो दौडाउने काम भएको बताएकी छन्। सोमबार राष्ट्रियसभा बैठकमा जनताको समर्थनमा स्थानीय तहको लगानीमा बनाइएको डिपीआर मन्त्रालयमा बुझाउँदा फुटबल जस्तो बनाइएको बताएकी हुन्।

उनले पूर्व मन्त्रीको पालामा सहरी विकास मन्त्रालयमा पेस गरेको डिपीआरमा कहिले पूर्ण बजेट त कहिले समपूरक बजेटमा समेट्ने आश्वासन मात्र दिइएको बताइन्। उनले आफ्नो पार्टीको सरकारले यसरी फुटबल जस्तो दौडाएर आश्वासन मात्र दिँदा दुख लागेको सुनाइन्।

उनले भनेकी छन्, ‘स्थानीय तहको रकम र त्यहाँका जनताको समर्थनमा बनाएर ल्याएको डिपीआर सहरी विकास मन्त्रालयमा पेस गरे। पूर्व मन्त्रीको पालामा पेस गरेको डिपीआरमा कहिले पूर्ण बजेट त कहिले समपूरक बजेटमा पारिने छ भन्दै आश्वासन गराउने काम भयो।’

उनले अगाडि थपेकी छन्, ‘मलाई कहिले अर्थ मन्त्रालय, कहिले विभाग त कहिले सहरी विकास मन्त्रालयमा सिपालु खेलाडीको फुटबल जस्तै वर र पर गराउने काम भयो। आज दुखका साथ भन्न चाहन्छु, आफ्नै पार्टीको सरकारबीच आफ्नो दुख राख्नु परेको छ।’

जनताका प्रतिनिधिको हैसियतमा आफूले केही योजना ल्याए उनले बताइन्। तर आफूले गौरवको योजना माग नगरे उनले सुनाइन्। तर पनि जिल्लाबाट माग भई आएका साना योजनाहरूमा आफूले हालसम्म बजेट नपाएको गुनासो उनले गरिन्। मन्त्रीको ठाउँमा भने चाहेजति योजना जाने गरेको तर आफ्ना क्षेत्रका आधारभूत योजनामा पनि बजेट नपर्ने गरेकोप्रति उनले आपत्ति जनाइन्।

उनले भनेकी छन्, ‘मलाई यति बेला यहाँ बोलिरहँदा एउटा कलाकारको गीतको याद आइरहेको छ। मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ। आफ्नो आँखा छोपी अरूलाई नरोऊ भन्नु परेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *