ग्यारेज गायनको अतीत

प्रकाश सायमी

विश्वप्रसिद्ध सांगीतिक व्यान्ड् बीटल्स् र यस समूहका थरीथरीका गायक र वाद्यवादकको आआफ्नै परिचय छ । जोन लेनन, पल मकार्टिनी, जर्ज ह्यारिसन, रिँगो स्टार आदि । पल र जोन बाल्यकालदेखि नै साथी थिए ।

यी दुवैले आफ्नो गायन स्कुलेजीवनमै शुरु गरेका थिए । यिनका अधिकृत जीवनी लेखक फिलीप नरम्यानका अनुसार यिनको समूहको गीति गायनको अभ्यास पहिलो पहिलो पटक मोटर ग्यारेजमा शुरु भएको थियो । मोटर ग्यारेजमा अभ्यास गरेको कैँयौ वर्ष पछि मात्र यिनले मञ्चमा पाइला टेकेका थिए ।

स्वरसम्राट नारायण गाेपाल

हुन त राम्रो नराम्रो जस्तो गाउनेको पनि गायन बाथरुमबाट शुरु हुन्छ भन्छन् तर प्रसिद्ध रक गायक माइक खड्का भन्छन् , “राम्रो गाउन जान्यो भनें वाथरुम सबभन्दा राम्रो गाउने ठाउँ हो , त्यहाँ इको सिस्टम मिलेको हुन्छ ।”

यद्यपि माइक खड्काको यो कुरालाई गलत भनि हाल्न पनि मिल्दैन । किनकि भारतीय सिने उद्योग बलिऊडकी चर्चित गायिका लता मंगेशकरले कालजयी सिनेमा ‘मुगल–ए–आजम’ को एउटा गीत ‘जब प्यार किया तो डरना क्या’ वाथरुम मै गएर रेकर्ड गरेकी थिइन् ।

यस फिल्मका संगीतकार नौशादका अनुसार त्यति वेला गीत रेकर्ड गर्दा रिभर्भ (प्रतिध्वनि हाल्ने प्रविधि)को विकास भइसकेको थिएन । त्यसैले वाथरुम जत्ति उपयुुक्त ठाउँ अरु देखिएन । त्यसैले लतालाई वाथरुममा गएर गाउन अनुरोध गरियो ।

वाथरुम पछि मोटर ग्यारेज पनि गाउन र अभ्यास गर्न एक उपयुक्त ठाउँ मानिन्छ । तर अनौठो र अचम्मको कुरा धेरै गायक, सर्जक, कलाकारको अधिकांशको प्रारम्भिक जीवन पहिले मोटर ग्यारेजमै वितेको पाइन्छ । युरोप र अमेरिकामा यस्ता घटना धेरै छन् तर एशियाई मूलमा पनि नेपाल, भारत, पाकिस्तानका स्रष्टा सर्जकको जीवनमा मोटर ग्यारेजको धेरै अहम् भूमिका छ । त्यसमध्ये पहिलो नाउँ आउँछ , भारतका प्रसिद्ध फिल्मकार गुलजारको ।

गुलजारले नेपाल आउँदा ललितपुरको यलमाया केन्द्रमा भने, “म कलम चलाउनु भन्दा पहिले मोटर ग्यारेजमा रिन्चु र पेँन्चिस चलाउँथे ।” सन् १९९९ मा काठमान्डूमा आयोजना गरिएको काठमान्डू फिल्म फेस्टिभलमा प्रमुख अतिथिका रूपमा आउँदा गुलजारले आफ्ना जीवनका पूर्व दृश्यपटका कुरा गर्दा पाकिस्तानबाट भारतको दिल्ली आएर संघर्ष गरेको अनि आफ्ना दाजुसित काम गर्न बम्बई आएको स्मरण साझा गरेका थिए ।

गुलजारले माचिस, इजाजत, नमकीन, मौसम, आँधी, मेरे अपने, मिर्जा गालिब जस्ता फिल्म निर्देशन गरेका छन् । उनले नै निर्देशन गरेको फिल्मबाट पहिलो पटक डैनी, शत्रुध्न सिन्हा, विनोद खन्नाले फिल्मी क्यारिअर शुरु गरेका थिए भने उनले नै लेखेको फिल्म आनन्द बाट राजेश खन्नासँगै अमिताभ बच्चन पहिलो पटक चर्चामा आएका थिए ।

पाकिस्तानको दीनामा जन्मेका गुलजार भारत विभाजन पछि उनी पाकिस्तान छोडेर दिल्लीमा स्थानान्तरण भए । दिल्लीबाट आफ्ना दाजुसित उच्च अध्ययन गर्न आएका गुलजारको पढाई इन्टरमिडियटबाट अगि वढ्न सकेन । उनी आफ्नो संस्मरणको एक किताबमा लेख्छन्,

बम्बईमा मेरो आरम्भिक दौड चल्दैथ्यो । इन्टर पास गर्न सकिनँ, फलस्वरुप दुई छाक टार्न जे काम हात लागे पनि गर्थेँ । एउटा मोटरग्यारेजमा एकाउन्टेन्टको काम गर्दैथिएँ । त्यो ग्यारेजमा गाडी रँगाउन पनि मान्छे आउँथे । त्यो जमानामा आजको जस्तो बनाइएको रंग पाइँदैनथ्यो , त्यसलाई बनाउनु पथ्र्यो । त्यो काम एकदम चूनौतिपूर्ण हुन्थ्यो , किनकि गाडीको जुन भागलाई रंगाउनु पथ्र्यो त्यसको रंगसित गाडीको रंग पुरै मेल खानु जरुरी थियो । ग्यारेजमा काम गरेकोले मलाई सही रंगलाई सही अनुपातमा मिलाएर सही रंग बनाउन आयो । पछि गएर एक फिल्मकारको रुपमा , रंगसितको मेरो यो परिचय पुरा काम आयो ।”

गुलजारले मोटर ग्यारेजमा हुँदै अग्रज निर्देशक विमल रायको फिल्म बन्दिनी मा गीत लेखे । पछि रायले नै उनलाई मोटर ग्यारेज तिम्रो ठाउँ होइ, फिल्ममा आऊ भनेपछि उनले मोटर मेकानिक्सको काम छोडेर सहायक निर्देशक भएर फिल्ममा प्रवेश गरे ।

अन्ततः उनी स्वयम् पनि एक कुशल निर्देशक भए ।

उनकै समकालीन कवि कुँवर नारायणले पनि साहित्यलाई धन्दा बनाउन नपरोस् भनेर मोटर स्पीड नामको ग्यारेज खोले । कवि लेखकको मात्र होइन, प्रसिद्ध गजल गायक मेंहदी हसनको पनि मोटर ग्यारेजबाटै आफ्नो क्यारिअर शुरु भएको देखिन्छ ।

नेपालका राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा यहीँको दरवारमा शास्त्रीय संगीतका दरवारीया गुरु भएर बसेका आजम खाँ का नाति मेँहदी हसन पनि भारत पाकिस्तान विभाजन पछि भारत छोडेर आफ्ना पिता सित पाकिस्तान गए ।

हातमा दशहजार रुपियाँ लिएर पाकिस्तान गएका मेँहदी हसनको परिवारलाई त्यतिवेला संकट आइपर्यो जब सम्पूर्ण परिवारले गायनमा निर्भर रहनु पर्यो । आफ्ना काका इस्माइल खाँको आग्रहमा उनले शुरुमा मोटर ग्यारेजमा सहायक भएर पछि मेकानिक्स् भएर काम गरे ।

सन् १९५५ सम्म उनले रेडियो र माइक्रोफोन देखेका थिएनन् । आफ्ना पिता, पितामह, परमपिता सबैले संगीतमा जीवन होमे पनि उनले जीवन गुजाराको निम्ति मोटर ग्यारेजमा पार्ट पूर्जा फिट गर्ने, नटबोल कस्ने, रिञ्चू, पेन्चिस चलाउने काममा पोख्त भए ।

ग्वालियर र जयपुर दरवारमा कलावन्त पदवी पाइसकेका घरानिया परिवारमा जन्मेका यी नाति उस्तादले युवाकालमै हार्मोनियम , तबला छोडेर मोटरको बनेटमा हात बजार्न थाले । तर यिनको गायनको खाकी यहीँबाट तीक्ष्ण हुँदै गयो । उनले ग्यारेजमा साथीभाइलाई फिल्मी गीत नक्कल गरेर सुनाउने र आवाजको विविध प्रयोग गर्न थालेपछि यिनलाई ग्यारेजबाट रेडियोको स्टुडिओ पुर्याउने काम यहीँबाट भयो ।

शारीरिक रुपले हट्टाकठ्ठा, बलवाहुमा ताकत भएका अग्लो कदका मेंहदी हसन हेड मिस्त्रीबाट गजल गायनमा विश्वकै उच्चाकर्षणमा पुगे, उनलाई गजल गायनका बादशाहको पदवी दिइएको छ । उनी नेपालमा गोरखा दक्षिण वाहु पाउने पहिलो विदेशी कलाकार थिए । उनले पछि आफ्नो स्वरमा चाँदनी शाहको शब्द र दीपक जंगमको संगीतमा छओटा गीत गजल पनि गाएका छन्, उर्दूमा ।
मेँहदी हसनले एकपटक लताको स्वरको तारिफ गर्दै भनेका थिए, भगवानले लताजीलाई राम्रो गला दिएको छ । लताले यसको जवाफमा भनेकी थिइन्,भगवानले मलाई गला मात्र दिएको छ तर मेँहदी हसनको त गला मै भगवान छ ।

गजलका पर्याय मेंहदी हसनलाई रत्न रेकर्डिँग संस्थानको निम्तोमा पन्ध्रदिने लामो कार्यक्रम गर्न नेपाल आउँदा नारायणगोपालसित भेट्न रुचि पनि राखेका थिए र दुवैको भेट होटल याक एन्ड यतिमा भएको थियो ।

मेंहदी हसनले काठमान्डूको सभागृहमा कार्यक्रम प्रस्तुत गर्दा नारायणगोपालको गीत गाएर कार्यक्रम शुरु गरेका थिए । सार्क संगीतमा मेंहदी हसनलाई मनपराउने कलाकार कैयन् छन् तर नारायणगोपाल पनि त्यसमध्ये एक अवश्य थिए , उनले मेरो वेहोशी मेरो लागि पर्दा भो कम्पोज गर्दा मेंहदीबाट आफू प्रभावित भएको स्वीकारेका छन् ।

हसनकै गायनबाट प्रभावित भएर घन्टौँ साधना गर्ने नारायणगोपालको जीऊडाल र कदकाठी पनि उनकै जस्तो देखिन्छ, चौडा छाति, बलिष्ठ बलवाहु र गरजदार आवाज । यी दुवैमा धेरै कुरा समानता देखिन्छ । दुवै शारीरिक व्यायाम प्रशस्त गर्ने, खान्कीमा पनि निकै बल गर्ने । रसरसादी पिउन र चिया चुरोटका पनि अम्मली ।

संयोगले दुवैको मिल्दो अर्को चरित्र हो, ग्यारेजको हेड मिस्त्री ।

नारायणगोपाल गायनमा स्वर सम्राट हुनु अगि हेटौँडाको एउटा आरडीएक कार्यायलमा हेड मिस्त्री थिए । त्यतिवेला उनी सँगै काम गरेका नुवाकोटका रामहरि रिमाल लेख्छन्, नारायणगोपाल राम्रो गाउने र त्यही रहेका अर्का मिस्त्री शास्त्रीय संगीततका ज्ञाता सत्पालजीले नारायणलाई नयाँ राग ढाल्न सघाउँथे । यहाँ हुँदा उनले आफ्ना अनेक हुनर देखाए ।

विक्रम संवत् २०१८ सालमा आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्य आरडीएकको डिभिजन अफिसर भएर जाँदा नारायणगोपाल पनि हेटौँडा पुगेका थिए, मोटर ग्यारेजको हेड मिस्त्री हुन ।

नारायणगोपालका भाइ गायक मनोहरगोपाल गुरुवाचार्य स्वरसम्राटको २५ औँ पुण्यतिथिमा यो कुरा सम्झना गर्दै भन्छन्, गाएर जीवन गुजारा हुँदैन भनेर बुबाले उहाँलाई त्यहाँ पठाएका थियो तर एउटा गायकको त्यहाँ पनि मन बस्न सकेन । त्यहीँ हुँदा उहाँको गीतकार क्षेत्रप्रताप अधिकारी, गायक संगीतकार भीम विरागसित भेट भएको थियो ।

भीम विरागको आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि मजस्तै माया दिएर हेर, कसरी म भुलेँ जस्ता गीतमा पछि नारायणगोपाल जमेका छन्, त्यो हेटौँडा बस्दाको निशानी हो ।
स्वरसम्राट नारायणगोपाल हेटौँडामा हेड मिस्त्री हुँदा क्षेत्रप्रताप अधिकारी साझा यातायातमा सहायक चालक थिए, यी दुईको यही परिचय पछि दिव्य खालिङको संगीतमा म त लालीगुराँस भएछु मा लालीगुराँस झैँ फैलियो ।

त्यो ग्यारेजमा नारायणगोपालले कैयन् गीत गाए वा सुनाए । आज उनको आवाज त्यो ग्यारेजमा सीमित रहेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *