चीनमा सुरू भयाे कोरोनाको दोस्रो लहर, सुरक्षित रहन आग्रह
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उद्गम स्थल चीनमा यसको संक्रमणको दोस्रो लहर सुरु भएको छ ।
चीनको वुहानबाट विश्वभर फैलिएको भाइरसको संक्रमण चीनमा पछिल्लो दुई महिनायता घट्दै गएको थियो । बेइजिङमा ५० दिनसम्म कोरोनाको कुनै केस नदेखिएकोमा शनिबार मात्रै थप ३६ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
नयाँ संक्रमितहरु पहिचान भएसँगै बेइजिङवासीहरुलाई सतर्क रहन र सुरक्षित उपाय अपनाउन आग्रह गरिएको छ। बेइजिङबाट नै हुबई, सिन्चुवान, लिओनिङमा समेत कोराना भाइरसको नयाँ केसहरु देखिएको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना महामारी अहिले विश्वभर फैलिसकेको छ । संक्रमणबाट विश्वभर ४ लाख ३५ हजार १७७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७९ लाख ८४ हजार ४३२ पुगेको छ ।
कोरोनाले सबैभन्दा बढी प्रभावित भएका अमेरिकामा पछिल्लो दुई दिनयता संक्रमणबाट हुने मृत्यु घटेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ३२६ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७०२ जनाको मृत्यु भएको थियो ।