बजेट अधिवेशनको तयारीमा स्थानीय तह
- ध्रुवराज खनाल
चितवन । कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण नियन्त्रणसँगै चितवनका स्थानीय तह नगर परिसदको तयारीमा जुटेका छन् । कोराना भाईरसका कारण सबैको ध्यान यसैमा केन्द्रित भईरहेका बेला स्थानीय तह कोरोना नियन्त्रणको कामसँगै बजेट ल्याउने तयारीमा रहेका हुन् ।
जिल्लामा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिका रहेका छन् । उनीहरु सबै बजेट अधिवेशनमन जुटेका छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिकाले नियमित मिति असार १० गते आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट सार्वजनिक गर्दैछ भने असार ६ गते शनिबार निति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको मेयर लालमणि चौधरीले बताए । आगामी आर्थिक वर्षमा कृषि, पशुपालन, स्वास्थ्य र पूर्वाधारलाई क्रमश जोड दिइएको उनले जानकारी दिए ।
कोरोनापछि बाहिरी मुलुकबाट युवाहरु फर्कन सक्ने सम्भावना रहेकाले उनीहरुलाई केन्द्रित गर्दै विना ब्याज लगानी गर्ने गरि कोष स्थापना गर्दैछ । झन्डै १ करोडको कोष स्थापना गरि सोही कोषबाट ऋण लिएर कुनै उद्यम वा कृषि पेशा गर्नुपर्ने मेयर चौधरीले बताए । आगामी वर्षका लागि झण्डै ८८ करोड बराबरको बजेट ल्याउने खैरहनी नगरपालिकाको तयारी छ । त्यसका लागि नगरले वडाहरुलाई वजेटको सिलिङ पठाइसकेको छ ।
नगरभित्र रहेका वडाहरुले न्युनतम ९५ लाखदेखि १ करोड ४७ लाख सम्म बजेट पाउने छन् । ५० प्रतिशत समान रुपमा विनियोजन गरिएपनि बाँकी भुगोल, जनसंख्या, विकासको अवस्था र राजस्वका आधारमा बजेट बाँडफाँड गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । जिल्लाको ठुलो नगरपालिकाको रुपमा रहेको रत्ननगर नगरपालिकाले एक अर्ब बढिको बजेट ल्याउने तयारी गरेको छ ।
रत्ननगरका मेयर नारायण वनका अनुसार आगामी आर्थिक वर्षका लागि १ अर्ब ५ करोडको हाराहारीमा बजेट ल्याईँदैछ । कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएर बजेट ल्याउने मेयर वनको भनाई छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकरण गर्दै यसमा युवाहरुलाई जोड्ने गरि निति तथा कार्यक्रम ल्याउने उनले बताए । रत्ननगरले पनि फरक मितिमा निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यस्तै कालिका नगरपालिकाले नगरस्तरीय बजेट कृषि र पशुपालनमा केन्द्रित गर्दै आगामी वर्षका लागि वजेट ल्याउन लागेको मेयर खुमनारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आगामी वर्षका लागि ८० करोडको हाराहारीमा बजेट ल्याईनेछ । विदेशबाट आएकाहरुलाई सुलभ ब्याजमा ऋण लगानी गर्ने गरि कोष बनाइने मेयर श्रेष्ठले बताए ।
कालिकाले पनि राजस्व संकलन, जनसंख्या, भुगोल लगायतलाई आधार मानेर बजेट ल्याउँदैछ । पूर्वी चितवनकै राप्ती नगरपालिका बजेट अधिवेशनको तयारीमा छ ।
मेयर प्रभा बरालका अनुसार आगामी वर्ष कृषि र पशुपालनलाई उत्पादनसँग जोडेर बजेट ल्याइँदैछ । त्यस्तै युवा स्वरोजगार कार्यक्रम समेत ल्याउने तयारीमा राप्ती नगरपालिका छ । राप्ती नगरपालिकाले निति तथा कार्यक्रम र बजेट एकै दिन ल्याउने तयारी गरेको मेयर बरालले बताइन् ।