योगेन्द्र श्रेष्ठ विरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा
काठमाडौँ । बैंकर योगेन्द्र श्रेष्ठ विरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।
स्रोतकाअनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको छ।
श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दासमेत खेपेका थिए । जसमा नागरिक लगानी कोषमा १६ करोड ५० लाख, माछापुच्छ्रे बैंकको ४ करोड ८८ लाख, जनता बैंकको १० करोड, हिमाल हाईड्रोको ९० लाख, नेपाली सेना कल्याणकारी कोषको ४ करोड, सन्ड्री डेप्स टर्सको ९ करोड ६९ लाख, बीमा संस्थानको २० करोड अनि विभिन्न व्यक्तिको बचत १७ करोड गरी कुल ८३ करोड ३ लाख रुपैयाँ अनियमित रुपमा दुरुपयोग गरेको आरोप थियो ।
उनीमाथि उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा नराखी दुरुपयोग गरेको आरोप थियो । उनीमाथि नक्कली ऋणी बनाई ३२ करोड ६४ लाख दुरुपयोग गरेको अभियोग पनि थियो ।
विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध समेत सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाएको छ ।
अर्को पटकको अभियोगमा उनीविरुद्ध ३४ करोड ९३ लाख दुरुपयोग गरेको मुद्दा चलेको थियो । तत्कालीन पुनरावेदन अदालतको वाणिज्य इजलासले दुई पटकको फैसलामा उनीसहितको टोलीले करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै योगेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थमान मास्केलाई ३ वर्ष कैद फैसला सुनाएको थियो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कसुरदार श्रेष्ठमाथि छानबिन हुँदा उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति फेला पारेको बताएको छ ।