आज योगिनी एकादशी, भगवान नारायणको प्रतिमामा भोग लगाईंदै

काठमाडौं । योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ ।

भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।

दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ ।

यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि संकल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

योगिनी एकादशी व्रतकथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।

राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग अनि मृत्युलोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् ।

शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वततर्फ सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् ।

यसवर्षको योगिनी एकादशीको विशेष महत्व छ, हेममाली झैं हामी विश्वभरिका सबैजना यस कोरोना त्रासवाट मुक्त भई सामान्य जीवनमा फर्कन चाहन्छौं, योगिनी एकादशी सामान्यावस्थाको पैरवी गर्ने एकादशी हो । प्रभु हरि को असिम कृपाले फेरि उहि पुरानो विश्वमा फर्कने कसरत संभव होस्, गतिशिल होस् अनि आशातित होस् ।

यस व्रतकथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आश नगरौँ । हाम्रो पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *