पहिलोपटक विद्युतीय गाडीको चार्जिङ महसुल दर निर्धारण

काठमाडौं । विद्युतीय गाडीको चार्जिङ महशुल दर निर्धारण गरिएको छ । विद्युत नियमन आयोगले असारबाटै लागू हुने गरी नयाँ विद्युत महसुलमा नयाँ दर निर्धारण गरेको हो ।

विद्युत् प्राधिकरणले पेश गरेको प्रस्तावमा विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाइ गरी उक्त महशुल निर्धारण गरेको हो ।  निर्धारण दर अनुसार रातको समयमा विद्युतीय गाडी चार्ज गर्दा महसुल सस्तो पर्ने देखिन्छ ।

अब ३३ केभीको लाइन लिएर साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्जिङ स्टेसनमा सवारी साधन चार्ज गरेमा प्रति किलोवाट घण्टा ८ रुपैयाँ ४० पैसा लाग्ने छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबैभन्दा सस्तो ४ रुपैयाँ ४५ पैसा लाग्ने छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि ६ रुपैयाँ ६० पैसा शुल्क लाग्ने छ।

११ केभीको चार्जिङ स्टेसनका लागि साँझ ५ देखि राति ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ६० पैसा, ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ७० पैसा महसुल लाग्ने छ।

आयोगले साँझ ५ बजेदेखि राति ११ बजेसम्मको समयलाई पिक भनेको छ भने अफ पिकलाई राति ११ देखि बिहान ५ बजेसम्म भनेर ब्याख्या गरेको छ। बाँकी समय अन्यमा गणना हुने छ। तल्लो भाेल्टेज (२३०–४०) भोल्ट मा चार्ज गर्दा भने महँगो शुल्क लाग्ने छ। पिकमा ८ रुपैयाँ ७० पैसा, अफ पिकमा ५ रुपैयाँ ५ पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा लाग्ने छ।

त्यसैगरी पुसदेखि चैतसम्मको महसुल दर पनि फरक छ ।  हिउँदमा उत्पादन घट्ने भएकाले महंगो मूल्यमा बिजुली किन्नुपर्ने भएकाले महसुल पनि बढी तोकिएको छ । ३३ केभीको पिक समयमा ८ रुपैयाँ ४० पैसा, अन्य समयमा ६ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। यसैगरी ११ केभीको पीक समयमा ८ रुपैयाँ ६० पैसा र अन्य समयमा ६ रुपैयाँ ७० पैसा लाग्ने छ । तल्लो भोल्टेज २३०–४०० भोल्टको पिकमा ८ रुपैयाँ ७० पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ।

महसुल अनुसार सार्वजनिक यातायात बाहेकले चार्ज गर्ने चार्जिङ स्टेसनले न्युनतम् ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । निजी सवारीका चार्जिङ सार्वजनिकभन्दा केही महंगो पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *