आत्महत्या गरेकी सुर्खेतकी युवतीमा कोरोना पोजेटिभ


काठमाडौँ । सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका-८ की एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो।
ती युवतीको स्वाब प्रादेशिक अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो । उनको आज रिपोर्ट आएकोमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिए।
युवतीले गत असार १ गते रूखमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष कवीन्द्र कुमार केसीले बताए।
युवती गत जेठ १२ गते भारतबाट आएकी थिइन्। त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन्।
क्वारेन्टिनबाट घर पठाउन अघि गरिएको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको अध्यक्ष केसीले जनाए। घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
