‘अबको हाम्रो लक्ष्य कालापानी क्षेत्रबाट भारतीय सेना हटाउनु हो’

काठमाडौं । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले भोगाधिकार गरेको भएपनि नेपालको स्वामित्व भएको बताएका छन् ।

बिहीबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘भारतले विस्तारै कब्जा गरेको भूमिमा अहिले उसले भोगाधिकार जमाएको छ । तर त्यो भूभागको स्वामित्व नेपालको रहेको छ । उसले भोग गरेपनि स्वामित्व हाम्रो छ । भारतले आफ्नै हो भन्दै नक्सा पास गर्नु हुँदैन थियो ।’

सुगौली सन्धिपछि पश्चिमको नक्सा हेरफेर गर्नेगरी विभिन्न शासकहरु आएको उल्लेख गर्दैनले त्यो पछिका अन्य सम्झौताहरुले त्यो सन्धिका बुँदा र औचित्य हेरफेर गर्न नसकिने बताए ।

उनका अनुसार भारत र चीनको युद्ध हुँदाखेरी भारतले आफ्नो कारणबस नोपलको सिमामा आएर एउटा सानो प्रहरी चौकी बनाएर बसको थियो । त्यो अहिले विस्तृत भएको छ । हजारौँको संख्या छ । तर त्यो चेकपोष्ट बस्दादेखि नै त्यहाँको भूभागमा त्यतिबेला पनि तिरोतिरान, जनगणनादेखि लिएर सबै कुरा नेपालले नै गरेको थियो ।

‘चीनसँगको युद्धपछि भारतको इण्डियन बोर्डर टिबेटियन पुलिस त्यहीँ बस्यो । भोगाधिकार गर्यो । अहिले त्यो विवादित भुभाग नै समेटर नक्सा पास गरेपछि भने नेपालमा विरोध उठ्यो संसद र सडकबाट’, सांसद अधिकारीले भने, ‘त्यहाँको रक्षामन्त्रीले ट्रयाक रोड समेत बनाएर उद्घाटन गरेपछि नेपालमाथि दबाब उठ्यो । उसले पटक पटक भारतलाई कुटनीतिक वार्ताका लागि अनुरोध गर्यो तर भारतले मानेन । त्यसपछि नेपाल सरकारकासँग विकल्प रहेन र दबाका बिच नक्सा जारी गर्यो ।’

उनले अब त्यहाँ लडाईँ गर्न जाने भन्दा पनि वार्ता र छलफल गरी कालापानीबाट भारतीय सेना फर्काउने हाम्रो लक्ष्य रहेको बताए । ‘अबको हाम्रो लक्ष्य भनेको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउनु हो र त्यहाँ नेपाली नागरिक शासन त्यहाँ लागु गराउने हो’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *