राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित भएको छ । बिहान ११ बजे बसेको बैठकबाट भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर बनाइएको नयाँ नक्सा निशान छापमा पनि राख्न नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफाबार छलफलपछि उनीमार्फत् नै विधेयक पारित गर्न प्रस्ताव गरिएको थियो ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभामा हाल ५८ सदस्य रहेका छन् । ५७ जनाले यसको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा कुनै मत परेको थिएन ।

यसअघि गत शनिबारको बैठकमा प्रतिनिधि सभामा दुई तिहाई बहुमतभन्दा बढी मतले विधेयक पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संविधान संशोधनको प्रक्रिया लगभग पुरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *