प्रधानमन्त्रीले राष्ट्रिय सभामा सुनाए १० अर्बको हिसाब, कहाँ–कहाँ भए खर्च ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) का समयमा खर्च भएको भनिएको १० अर्बको हिसाब किताब सुनाएका छन् । बिहीबारको राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै प्रम ओलीले १० अर्ब क्वारेन्टिन व्यवस्थापन लगायतका ठाउँमा खर्च भएको बताए । जनप्रतिनिधि खटिएर लागेको अवस्थामा यसबारे प्रश्न उठेकोमा उनले गुनासो पोखे ।

‘उछाल्नेहरुलाई त उछाल्न सजिलो छ, १० अर्ब कहाँ गयो, खोइ १० अर्ब भनेर । अब यहाँ कताबाट देखाइदिने १० अर्ब यहाँ छ भनेर ! १० अर्ब त तल पठाइयो क्वारेन्टाइन व्यवस्थापनका लागि,’ प्रम ओलीले भने, ‘त्यहाँ खटिएका कर्मचारीका लागि । महिनौँदेखि मान्छेहरु खटिएका छन् । क्वारेन्टिन निर्माण गरेका छन् । क्वारेन्टिनमा बस्नेहरुलाई खुवाएका छन् । त्यहीँ खर्च भयो ।’

प्रधानमन्त्रीले भ्रष्टाचारका कुरा उठिरहेका बेला जनप्रतिनिधिहरुको बचाउ समेत गरे । ‘क्वारेन्टिनको बन्दोबस्त गर्नेहरुलाई खर्च दिनुपर्छ । उनीहरुले पनि खानुपर्ला । प्रबन्धहरु गर्नुपर्ला । जनप्रतिनिधिहरुले पैसा खाए भनिदिन सजिलो छ’, प्रधानमन्त्री ओलीले भने, ‘बुहतै दुःख, कष्टका साथ जनप्रतिनिधिहरु काम गरिरहेका छन् । त्यसमा गुन मान्नु, त्यो छैन । अनि गुन मान्नुको सट्टा, त्यसको प्रशंसा गर्नुको सट्टा, त्यसको कदर गर्नुको सट्टा अपमान गर्नु, सन्देह पैदा गर्नु, हतोत्साहित गर्नु उपयुक्त हुँदैन ।’

यसरी गलत हल्ला नफैलाउन उनले आग्रह समेत गरे । १० अर्ब भन्दा केही रकम विभिन्न निकायमा खर्चका लागि पठाइएको बताउँदै उनले त्यसको पनि विभिन्न सञ्चार माध्यममा हिसाब किताब नै आइसकेको भन्दै गुनासो पोखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *