कलाक्षेत्रमा लकडाउन असरः शिवहरी भन्छन्-कलाकारहरुले डिमाण्ड गर्ने अवस्था रहँदैन
हाँस्य कलाकार शिवहरि पौडेल यतिबेला घर परिवारसँग समय बिताइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण उनका कयौँ कामहरु अधुरै रहेका छन् ।
यो लकडाउन अवधिमा केही नयाँ काम पनि थालेका छन् उनले । सर्वसाधारण नागरिकसँगै सबै कलाकारहरु घरभित्रै बसिरहेका बेला के गर्दैछन् त शिवहरी पौडेल ? कसरी बित्दैछ उनको दैनिकी ? लकडाउनले कस्तो प्रभाव पारेको छ उनकाे जीवनमा ? यसै विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
लकडाउन कसरी बिताइरहनु भएको छ ?
लकडाउनको समय धेरैजसो घरैमा बसेर बित्यो, बितिरहेको छ । यो बीचमा विशेष काम परेर जम्मा तीन पटक मात्रै घरबाहिर निस्किएँ । बुढानिलकण्ठ, बागबजार र नागढुंगासम्म पुगेँ । सुरु सुरुमा त अलिअलि स्क्रिप्टको काम गरेँ । त्यसपछि अल्छी लाग्यो र त्यो पनि गर्न छोडेँ ।
घरमा सरसफाई गर्ने, बारीमा तरकारी लगाउने, बारीका झार उखेल्ने, ग्रिल पुछ्ने, पर्दा गलैँचाहरु धुने, कार्पेट धुने काम गरियो । अब लकडाउन अलि खुकुलो भएपछि अलिअलि हिँड्न थालेको छु ।
स्क्रिप्ट लेखेँ भन्नुभयो, कस्तो खालकोे स्क्रिप्ट लेख्नुभयो ?
‘लक्का जवान’ फिल्मपछि अर्को फिल्म बनाउने सोच थियो । त्यहि भएर लकडाउनको समयमा अलिअलि लखेँ । लेख्दै गर्दा पछि मुड अफ भयो । अब यहि फिल्म कहिले चल्ने हो, थाहा छैन । अहिले स्क्रिप्ट लेखेपछि पुरानो होला । अझ राम्रो स्क्रिप्टहरु आउला । त्यसैले अहिले नै किन गर्नु भनेर बन्द गरें । ‘लक्का जवान’ को २ वटा गीत रिलिज भइसकेको थियो । ट्रेलर रिलिज गर्ने तयारीमा थियौँ । कोरोनाले गर्दा सबै भताभुङ्ग भयो ।
लकडाउन खुल्यो भने तत्काल तपाईँको फिल्म रिलिज हुने कत्तिको सम्भावना छ ?
अब यसका बारेमा यसै भन्न सकिँदैन । लक्का जवानको ४/५ दिनको काम बाँकी थियोे । हामीले अब बन्द हुने भएपछि रेस्ट गरेर नै बसेका हौँ । अब पनि ४/५ महिना फिल्म लाग्ने अवस्था छैन । अब तयार बनाएर राखाैँ भनेर अहिले यो ४/५ दिनको काम सुरे गरेका छौँ । हेरौँ अब पछिसम्म कोरोनाको प्रभाव कस्तो रहन्छ । सरकारले के मापदण्ड बनाउला । हलहरु खुलिहाले पनि दर्शकहरु हलमा आउलान् जस्तो लाग्दैन ।
लकडाउनले कलाकारलाई कत्तिको असर पारेको छ ?
धेरै असर परेको छ । लकडाउनअघि कलाकारहरुले काम पाइरहेका थिए । कामहरु चलिरहेको थियो । मेरै अर्को फिल्म बनाउने भनेको रोकियो । अरु ३ वटा फिल्ममा एग्रिमेन्ट गरेको थिएँ । त्यो पनि रोकियो । अरु कलाकारहरु पनि फिल्म खेल्ने तयारीमा हुनुहुन्थ्यो । फिल्म बनाउने निर्माता, निर्देशकहरू पनि तयार थिए । कत्तिको फ्लोरमा गइसकेको फिल्म बन्द भयो । कति कलाकारलाई त गाँस, बासको व्यवस्था गर्न पनि गाह्रो परेको छ । यस क्षेत्रका प्राविधिकहरु झन् मारमा परेका छन् ।
लकडाउनको मारमा परेका प्रविधिकहरुका लागि तपाईंले केही पहल गर्नुभयो त ?
प्रविधिकहरुलाई गरिएन । हामीले अरु नै ठाउँहरुमा गर्यौँ । ‘लक्का जवान’ को तर्फबाट निर्माताहरुले अमेरिकाबाट पैसा पठाउनु भएको थियो । त्यही सहयोग गर्यौं । अब पनि प्राविधिकहरुलाई योभन्दा जटिल अवस्था आयो भने हामी सहयोग गर्छौँ । सुरु सुरुमा कसैले रहरले गरे कसैले बाध्यताले गरे । लकडाउन भएको भोलिपल्टदेखि नै चोक चोकमा भात खुवाए । समाजसेवी बन्नलाई पनि गरे । तर आखिरी समस्या पर्दा कसैले गरेको देखिएन ।
लकडाउनपछि नेपाली कला क्षेत्र र कलाकारहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
कोरोना कति समयसम्म रहन्छ भन्ने नै थाहा छैन । अब यो ६ महिना १/२ वर्ष पनि जान सक्छ ! यो रोकियो भने तत्काल नै काम सुरु हुन्छ । तर, पहिलाको जस्तो निर्माताहरुले अफर गर्दैनन् जस्ताे लाग्छ । कलाकारहरुले पनि डिमाण्ड गर्ने अवस्था रहँदैन जस्तो लाग्छ । अब कलाकारहरुलाई काम चाहिएको हुन्छ । निर्माताहरुले नै मिलाएर दिएको रकममा नै काम गर्नुपर्छ । नत्र नाम चलेको कलाकारलाई नखेलाई नयाँ कलाकारलाई लिएर खेलाउनु पर्ने अवस्था आउन सक्छ ।
त्यस्तो अवस्था आयो भने कलाकारहरुले आर्थिक संकटलाई कसरी पार लगाउछन् त ?
आर्थिक संकट पर्छ । पेशा व्यवसाय बदल्नु पर्ने पनि हुन सक्छ । एउटै ब्यापारबाट बाँच्न पनि खोज्नु हुँदैन । मैले पनि अर्को विकल्प खोज्नुपर्छ । सधै म यही क्षेत्रमा रहिरहन्नँ । कलाकारितामा कति समाय रहने हो ? डिमाण्ड कति समयसम्म रहन्छ ? अनि लिन छोड्यो भने मर्दाखेरी पनि पनि कात्रो किन्न पैसा उठाउँदै हिँड्नुपर्ने अवस्था छ । एउटा ब्यापार क्यान्सिल भयो भने गाई बाख्रा, भैसी पाल्ने, खेति किसानी गर्ने अथवा पसल खोल्ने के गर्न सकिन्छ, त्यही गर्नुपर्छ । विकल्प त खोज्नुपर्छ ।
तपाइले के सोच्नु भएको छ त विकल्प ?
मेरो हेटाैँडामा अलिकति जग्गा छ । त्यहाँ पार्टी प्यालेस खोल्नुपर्ला ! अलिकति ऋण लिनुपर्ला । अहिले त मान्छेहरु बर्थ डे, न्वारन, एनिभर्सरी जे भएपनि पार्टी प्यालेसमा गर्न थालेको छन् । पार्टी प्यालेसको आम्दानी पनि राम्रै हुने रहेछ । नत्र भोलि खेति गर्न पनि सकिन्छ ।
कोरोनाले ल्याएको बदलावपछि अबको चलचित्र बजार कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई ?
अबको चलाचित्र नगरी क्वालिटी बेसमा जानुपर्छ, क्वान्टिटि बेसमा होइन । मेहनत नगर्ने, जथाभाबी फिल्म बनाइदिने, अलिअलि नक्कल गर्ने, अरुको चोर्ने भयो । अब प्रचार प्रसारमा अलि ध्यान दिने र एकैचोटी हलमा पोस्टर राखेर त्यसको भरमा फिल्म चल्दैन । किनकि दर्शकलाई थाहा हुँदैन । दर्शकलाई स–सम्मान गरेर बोलाउनुपर्छ । प्रचारप्रसारको कमीले गर्दा कति फिल्म डुबेका पनि छन् । अब हतारमा र प्रतिस्पर्धामा फिल्म बनाउनु भएन । अब फिल्म बनाउँदा बच्चादेखि वृद्धसम्मले हेर्न लायक बनाउनु पर्छ ।
अहिले नेपाली कला क्षेत्रमा नातावादको कुरा चलेको छ नि ? के भन्नुहुन्छ ?
यो कुरा चल्नुपर्छ जस्तो लाग्छ । किनकि आफ्नो परिवारलाई नहेरी अरुलाई कसले हेर्छ ? अरु कलाकार लिँदा पनि पैसा नै दिनुपर्छ, आफ्नोलाई दिनु पर्दैन । तर, छोराछोरी फिल्म खेल्न सक्ने योग्य छ कि छैन ? त्यो हेर्नुपर्छ । उसलाई दिएको जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ । यदि त्यो छैन भने जबरजस्ती गर्नुहुँदैन । बरु उसलाई अरु नै व्यापारमा लगाइदिनु पर्छ ।
राम्रो स्क्रिप्ट लेख्ने लेखक नभएर फिल्म राम्रो नभएको हो ?
होइन । भारत र नेपालको हरेक संस्कारहरु मिल्छ । भारतले केही छोडेको छैन । तर यहाँ केही नयाँ कुरा उठाउन खोज्यो भने भारतीय कला संस्कृतिसँग मिल्न जान्छ । अनि भारतीय मुभिको स्क्रिप्ट चोरेको आरोप लाग्छ ।
तपाईँको अबको योजना के छन् ?
खासै केही छैन । मेरो सानैदेखिको रहर थियो गीत गाउने । अबको २/४ दिनपछि आफैँले गाएको आफ्नै शब्दमा रहेको गीतको सुटिङ गर्दैछु । त्यसपछि मैले २ वर्ष अगाडी गरेको ब्रेक फेल टेलिसिरियललाई निरन्तरता दिन्छु । त्यसलाई अलि परिमार्जित गरेर पहिलाभन्दा अझै रमाइलो तरिकाले गर्ने सोचेको छु ।