आमा हुन् पीडा त कहाँ लुकाउन सक्छिन् र ?

काठमाडौं । विदेशिनु रहर हो या बाध्यता विदेशीने व्यक्तिको आ–आफ्नै कथा व्यथा हुन्छ । तर, नेपालको सन्दर्भमा खाडी मुलुक जाने अधिकांश नेपालीहरुको कथा भने एउटै छ । त्यो हो गरिबी । र, प्रत्येक वर्ष बैदेशिक रोजगारीको लागि विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्दो छ ।

बैदेशिक रोजगारीका क्रममा विविधकारणले ज्यान गुमाएका २३ नेपालीहरुको शव शुक्रबार एकै पल्ट नेपाल ल्याइ पुर्याउँदा भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भावविह्वल भयो ।

कतार, मलेसिया, साउदी जस्ता खाडी मुलुकमा आफ्नो परीवारको सुखद भविष्य बनाउन भन्दै गएका युवाहरु बाकसभित्र आउँदा तीनका आफन्तहरुसँग भक्कानिनुको विकल्प थिएन ।

सुनौला सपना देखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै आफ्ना परीवारलाई हात हल्लाउँदै विदा भएका उनीहरु फर्कँदा पनि ओठभरी हाँसो लिएर आउँछन् भन्ने थियो तर, यसरी अकालमै ज्यान गुमाएर बाकसभित्र गुम्सिएर आउँदा त्यो परीवारले आफुलाई संहाल्नै सकेनन् ।

आज नेपाल आइपुगेका २३ शवहरु मध्ये २० वटा त कतारबाट आएका थिए । शव बुझ्न विमानस्थल बाहिर बसेका आफन्तहरुको अनुहार मलिन थियो । ओठहरुमा कलेटी परेका थिए । लकडाउनका कारण लामो समयसम्म अन्तराष्ट्रिय उडान बन्द हुँदा विदेशमा थन्किएका शवहरु ढिलो गरी नेपाल आइपुगेकाले कतिपय आफन्तहरुले त्यो पिडालाई सहन सक्ने शाहस देखाएका थिए । तर, आमाको मन न हो, खाउँखाउँ लाउँलाउँकै उमेरमा बिदेशिएको छोरो लाश बनेर आउँदा कहाँ संहालिन्थ्यो र ! जति नै मन बुझाउने चेष्टा गरेपनि आँखाका कोष रसाईहाले ।

विदेशिनु हाम्रो नियती हो । रहर हैन । यदी स्वदेशमै काम गर्ने, आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारको संरक्षण भइदिएको भए आफ्नो भाषा, संस्कृति, माटो र परीवारबाट विमुख भएर सात समुन्द्रपारी मृत्युवरण गर्ने रहर कसैलाई हुँदैन ।

हामी दुई दशक देखि विकास र संमृद्धिको कुरा गरीरहेका छौं । समानता र न्यायको लडाईं लडिरहेका छौं । विकासको कुरा गरिरहेका छौं । रोजगारीका कुरा गरिरहेका छौं तर, ति सबै कागजमा मात्र सिमित भइदिए । १० वर्षे शसष्त्र जनयुद्ध, त्यसपछिको राजनीतिक आन्दोलनले नयाँ संविधान प्राप्त भयो । त्यसकै बलमा हामीले समाजमा विद्यमान असमानताहरुलाई सदाका लागि निर्मुल पार्ने काम पनि गर्यौं तर, त्यसलाई अक्षरतः ब्यवहारमा उतार्ने प्रयत्न कदापि गर्न सकेनौं । फलस्वरुप, दैनिक १५ सयको हाराहारीमा रोजगारीकै लागि युवाहरु विदेशिए । हाम्रा गाउँघर शुन्य भए । सुन फल्ने हरिया फाँटहरु उजाड भए । र, यो क्रम अझै छ ।

सरकारले बेलैमा बैदेशिक रोजगारीको नियतीलाई संवोधन गर्न सकेन भने, स्वदेशमै काम गर्ने वातावरण बनाउन सकेन भने कुनै बेला त्यस्तो नआवोस कि नेपालका युवाहरु खोज्न साउदी कतार बाकस बोकेर जानुपर्ने अवस्था होस । विचार गरौं, यसरी दिनदिनै लाशहरु भित्रँदा त्यसले एउटी आमाको मन मात्र पोल्दैन नेपाल आमालाई नै पोल्छ । एउटा २४ वर्षे लक्का जवानको मरुभूमीमा अन्त्य हुँदा चाउरी परेकी आमाको सपनाको मात्र अन्त्य हुँदैन, नेपाल आमाको सपना पनि मर्दछ । बेलैमा सोचौं ।

तस्वीरहरुः सागर बाबु भट्ट : मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *