विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिक दिने निर्णय गरेको छ।

शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थामा सहमति जुटाएको हो । ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र भने प्रदान गरिनेछ ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ । बैठकपछि निर्णयबारे जानकारी गराउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि ७ वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्नेछ ।’ विदेशमा नागरिकता वा अन्य कुनै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पनि पेश गर्नुपर्ने उनकाे भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहमति हुन नसकेपछि नेकपाले सचिवालय बैठकबाट ७ वर्षको प्रावधान राख्ने निर्णय गरेको हो । कांग्रेसले भने यसमा असहमति जनाएकाे छ ।

यसअघि ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीले सम्बन्धित देशको नागरिकता त्यागेर नेपाली नगारिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन कुनै समय सीमा निर्धारण गरिएको थिएन । नागरिकता संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन । समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *