ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १० लाख बढीः पूर्व स्वास्थ्यमन्त्री भन्छन्- स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४८ हजार ९५४ पुगेको छ । ब्राजिलमा उपचारपछि निको हुने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख सात हजार करिब ५० प्रतिशत पुगेको मन्त्रालयले जानकारी गराएको छ ।
ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उनलाई पदबाट हटाइएको बताएका छन् ।
राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत रहेका ५५–वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि गत अप्रिलमा पदबाट हटाएका थिए । राष्ट्रपतिको यो कदमलाई तत्कालिन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाईँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिएका थिए । अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै सङ्क्रमित र मृत्यु हुने मुलुक बनेको छ । शनिबारसम्ममा अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार सङ्क्रमित र एक लाख २१ हजार १०७ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिएका थिए तर उनले पनि एक महिनामा नै पदबाट राजीनामा दिएका थिए । त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।
स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तवार्तामा भने, ‘पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उहाँले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोशिस भएपनि उहाँको र उहाँद्वारा नेतृत्व भएको स्वास्थ्यमन्त्रालयप्रति जनताको विश्वास गुमेको छ ।
जसरी हामी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन त्यसैगरी सैनिक जनरलले स्वास्थ्य क्षेत्रको यथेस्ठ ज्ञान नहुनु स्वभाविक हो । तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ । कोरोनाभाइरस सङ्क्रमित विरामीले वास्तविक कथा बताउनेछन् । यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने ।
पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्छ । अन्तिममा तपाईँले जुन कुरा गर्न चाहेपनि त्यतिबेलासम्म मन्त्रालयको विश्वसनियता गुमिसक्छ । किनभने विश्वसनियता नै तपाईलाई अख्तियार दिने हो । तर दुर्भाग्यको कुरा उनीहरू (सरकारी अधिकारी) ले तथ्याङ्क, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनियता गुमाएका छन् ।’
के ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने प्रश्नमा उनले भने, ‘यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ । दुभाग्यको कुरा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ । अब ढिलो भयो देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दवाव रहेको छ । अब बन्दाबन्दी गर्न कठिन छ । यो उपाय सुरूमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य सङ्कट निम्तिने थिएन कि ।’ (रासस/एएफपी/एएनआई)