‘योग मानव जीवनको अङ्ग बन्न आवश्यक छ’ प्रधानमन्त्री

काठमाडौं । योग साधना हाम्रो प्राचिन मौलिक उपज रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना ब्यक्त गर्दै प्रधानमन्त्रीले मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताएका छन् ।

‘तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ ।’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् । उनले योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पुर्याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्ने बताएका छन् ।

योग प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा रहेको उल्लेख गर्दै योगले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने, मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्ने, योग साधनाले तनाव ब्यवस्थापनमा सघाउने र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पुर्याउने उल्लेख गरेका छन् ।

प्राचीन शास्त्रमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या गरिएको बताउँदै प्रधानमन्त्रीले भनेका छन्–‘भगवत गीतामा श्रीकृष्णले ‘बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्’ भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।’

हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल रहेको बताउँदै उनले प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेको जिकिर गरेका छन् ।

‘आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरक संहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ ।’

उनले प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताएका छन् । साथै प्रधानमन्त्री ओलीले सिंगो विश्व कोरोना भाइरसको महामारीसँग जुधीरहेको बेला औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय भएको र यी विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको जनाएका छन् ।

‘आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं ।’ प्रधानमन्त्रीले भनेका छन् ।

सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977010216″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *