एसपी अधिकारीको नेतृत्वपछि मोरङमा अपराधिक घटनामा कमी
- सुजाता लिम्बु
विराटनगर । मोरङमा एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशतले कमि आएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म अघिल्लो वर्षको तुलनामा समग्र अपराधिक घटना कम भएको हो । मोरङबाट बिदा भएर जान लागेका एसपी विश्व अधिकारीले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धी र कामहरु भएको बताए ।
गत आर्थिक वर्षमा १ हजार ४१७ वटा मुद्दा दर्ता गरेको मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म एक हजार चार सय १७ वटा मुद्धा दर्ता गरेको एसपी अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा चार सय ४० मुद्दा दर्ता भएका छन् भने अघिल्लो आर्थिक वर्षको हालसम्म ६ सय ५५ वटा मुद्दा दर्ता गरेको एसपी अधिकारीले बताए ।
उनका अनुसार उस वर्ष बलात्कारका १७ र बलात्कार प्रयासका ४४ घटना भएको थियो । अघिल्लो आर्थिक वर्षमा बलात्कारका १७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए । अघिल्लो आर्थिक वर्षमा एक सय ८९ जनाले आत्महत्या गरेकामा यस वर्ष २१३ जना पुगेको छ ।
सचेतनामुलक एवम् नागरिक मैत्री कार्यक्रमले अपराधिक घटनामा कमी
प्रहरी सक्रियता, विभिन्न अभियान, नागरिक प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामूलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको एसपी विश्व अधिकारीले जानकारी दिए । उनको अनुसार यस वर्षको हालसम्म विभिन्न अपराधिक घटनामा संलग्न एक हजार दुई सय ५९ पुरुष र ९१ महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । आम नागरिक र प्रहरीको सम्बन्धमा सुधारको कारण प्रहरी अपरा अनुसन्धानमा सफल रहेको अधिकारीको भनाई छ ।
विभिन्न अपराध अनुसन्धानमा मोरङ प्रहरीको सफलता
गत माघ १० गते सम्झना खत्रीको हत्या गर्ने उनको प्रेमी सुरेन्द्र साह पक्राउ परेका थिए । आफ्नै बुवासँग आपरहणको नाटक गरी फिरौती रकम लिने मुकेशकुमार महतो पक्राउ, प्रेमीसँग मिलेर गत माग ६ गते श्रीमानको हत्या गर्ने दयावती सरदार र उनकै प्रेमी बद्री सरदार एवं हत्यामा संलग्न विकास सरदारलाई पक्राउ गर्न मोरङ प्रहरी सफल भई कारबाहीको दायरामा ल्याएको एसपी अधिकारीले जानकारी दिए ।
त्यस्तै जेठ ३ गते विराटनगर महानगरपालिका १४ झटियाईका दुई दाजुभाई रोहित र नागेन्द्र चौहान मिलेर आफ्नै बुवा ५५ वर्षीया सत्याराम चौहानको हत्या गरेर शव घर भित्र खाल्डो खनेर गाडेको घटनाको अनुसन्धान टुँगो लगाउन मोरङ प्रहरी सफल भएको अधिकारीले बताए ।
त्यस्तै विराटनगरका औषधि व्यवसायी ३३ वर्षीया देवीप्रसाद दुलालको हत्या प्रकरणको अनुसन्धान एसपी अधिकारीको नेतृत्वमा टुँगो लागइएको छ । अनुसन्धानको क्रममा पत्नी मीना श्रेष्ठ दुलालले प्रेमी ब्रहम्देव साहसँग मिलेर दुलालको हत्या गरेको खुलेको थियो । उनकै नेतृत्वमा मोरङ प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा एक वर्षको कार्य अवधिमा सफल भएको छ ।
स्वीप अप्रेशन सफल
विभिन्न चोरी, तस्करी, गुण्डागर्दी जस्ता विभिन्न अपराधिक घटना नियन्त्रणका लागि मोरङमा स्वीप अप्रेशन चलाए । स्वीप अप्रेशनका क्रममा तीन सय ८ जनालाई नियन्त्रणका लिएर स्क्रिनिङ गरिएको एसपी अधिकारीको भनाई छ । अधिकारीका अनुसार ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा मोरङको पक्राउ संख्या २२ दशमलव १९५ हो । प्रहरीले एक वर्ष अवधिमा मोरङ जिल्ला भरीबाट २० हजार तीन सय ९५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । त्यस्तै मदिरा बनाउन प्रयोग गर्ने १४ हजार एक सय ५० लिटर कच्चा पदार्थ र पाँच सय ३० बोतल नक्कली रक्सी बरामद गरेको छ ।
एसपी अधिकारीकै नेतृत्वमा मोरङ प्रहरीले आफ्नो कार्यकालमा प्रतिबन्धित विप्लव समूहका मेची कोसी व्युरो संयोजक, सचिव जनपरिषद प्रमुखसहित २१ जनालाई पक्राउ गरेर कारबाही गरेका थिए । एक वर्षको अवधिमा पाँचवटा अटोम्याटिक पेस्तोल, पाँचवटा कटुवा पेस्तोल, आठओटा भरुवा बन्दुक गरेर १ वटा हतियार र छ वटा म्यागजिन तथा २६ राउण्ड गोली बरामद गर्नु मोरङ प्रहरीको सफलता रहेको अधिकारीले बताए । मोरङमा वर्ष दिनभरीमा तीन सय नौवटा लागुऔषध विरुद्धका कार्यक्रम संचालन गरिएको अधिकारीले जनाकारी दिए ।