अंगीकृत नागरिकताबारे कांग्रेसः राज्य व्यवस्था समितिमा फरक मत

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णयमाथि असन्तुष्टि जनाएको छ ।

विधेयकबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज (आइतबार) भएकाे छलफलमा कांग्रेस सां‌सदहरू दिलेन्द्रप्रसाद बडू,  देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका छन् । सत्तारुढ नेकपाले यो प्रस्तावमा समर्थन गरेको छ र समितिमा उसको बहुमत भएकाले सहजै निर्णय हुन सक्ने सम्भावना रहेपनि कांग्रेसले भने प्रस्तावमा फरक मत राखेकाे हाे ।

आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएकाे थियाे । यदि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गर्न खोजे कांग्रेसले फरक मत राख्ने निर्णय गरेकाे थियाे ।

२ वर्षदेखि समितिमा रहेको सो विधेयक टुंगो लगाउन आज दिउँसो २ बजे समितिको बैठक बस्दै छ । बैठकअघि सहमति नभए प्रक्रियामा लगेर वैवाहिक अंगीकृतको विषय टुंगो लगाउन लागिएको हो । विधेयकमा अन्य विषयमा समितिमा सहमति जुटे पनि विदेशीको बुहारीको विषयमा विवाद थियो । सत्तारूढ ढल नेकपाले वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रावधान राख्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित समाजवादी जनता दल नेपाल नागरिकता ऐन, ०६३ कै व्यवस्थाको पक्षमा छन् ।

राज्य व्यवस्था समितिमा सत्तारूढ नेकपाको बहुमत छ । समितिमा सभापति श्रेष्ठसहित नेकपाका १५, कांग्रेसका ६, जसपाका चार, नेमकिपाका एक र एक स्वतन्त्र सांसद छन् । जसपा र कांग्रेस भने संशाेधनकाे पक्षमा छैनन् ।

शनिबार बिहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । निर्णय अनुसार ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र भने प्रदान गरिनेछ ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ । विदेशमा नागरिकता वा अन्य कुनै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पनि पेश गर्नुपर्ने भनाइ थियो ।

यसअघि ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीले सम्बन्धित देशको नागरिकता त्यागेर नेपाली नगारिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन कुनै समय सीमा निर्धारण गरिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *