चैतयताको शुल्क बुझाउन निजी विद्यालयहरुको आग्रह, सरकारले सहयाेग नगरेकाे गुनासाे
काठमाडौं । सरकारले नलिन पटकपटक लकडाउन अवधिको शुल्क नलिन आग्रह गरेपनि निजी विद्यालयहरुले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) ले संयुक्त रुपमा विज्ञप्ति निकालेर अभिभावकसँग लकडाउन अवधिभरको समेत शुल्क भुक्तानी माग गरेका हुन् ।
निजी विद्यालयहरुका हरेक क्रियाकलापका लागि हालसम्म नेपाल सरकाबाट कुनैपनि सहयोग र आश्वासन प्राप्त नभएकाले अहिलेको विषम परिस्थितीमा अभिभावकहरुलाइ शुल्क भुक्तानी गरेर सहयोग गर्न प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तिमा अनुरोध गरिएको छ ।
‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले चैत महिनाको शुल्क र अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनिरहेका बेला नीजी विद्यालयले भने अनलाइन कक्षाकाे समेत शुल्क लिने बताएकाे छ । सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ ।