लकडाउनको असर: विराटनगरको राजस्व संकलन लक्ष्यको ५४.४३ प्रतिशत मात्र

विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले राजस्व संकलनमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि गत चैत्र ११ गते लकडाउन कार्यान्वयन भएसँगै राजस्व संकलनमा प्रभाव परेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरको अनुसार चालु आर्थिक वर्षको जेठसम्म ४५.५७ प्रतिशतले ओरालो लागेको छ । लामो समयको बन्दाबन्दीको कारण उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएसँगै राजस्व संकलन ओरालो लागेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले गत वर्ष वार्षिक लक्ष्यको तुलनामा १०.८३ प्रतिशत बढी राजश्व संकलन गरेको थियो भने चालु आर्थिक वर्षको असार मसान्तसम्म १० अर्ब १२ करोड ५९ लाख २ हजार राजश्व संकलनको लक्ष्य राखेको भए पनि हालसम्म ५ अर्ब ५१ करोड २० लाख १५ हजार राजस्व संकलन गरेको छ । प्रतिशतको अनुपातमा तुलना गर्ने हो भने वार्षिक लक्ष्यको ५४.४३ प्रतिशत मात्र रहेको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा राजश्व कार्यालयले कार्यालयले ६ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलनको लक्ष्य राखेकोमा ७ अर्ब ११ करोड २९ लाख ८८ हजार राजश्व सङकलन गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले जनाकारी दिए । गत वर्ष र चालु आर्थिक वर्षको तुलनात्मक हिसाबले राजश्व संकलन कम भएको उनको भनाई छ ।

कोरोना महामारीका कारण देशको प्रमुख अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएपछि राजश्व सङ्कलन तुलनात्मक रुपमा ओरालो लाग्दै गएको अन्तरिक राजश्व कार्यालय विराटनगरका कर सङकलन अधिकृत नरेश राउतको भनाई छ । उनको अनुसार ‘गत आर्थिक बर्ष कार्यालयले मासिक ८० करोड ९५ लाख ९४ हजार रुपैयाँ बराबरको राजश्व संकलनको लक्ष्य राखेको थियो ।

लक्ष्यको तुलनामा ०.४५ प्रतिशतले बढी अर्थात् ८१ करोड ३२ लाख १६ हजार राजश्व सङकलन गरि सफलता हाँसिल गरेको थियो । भने चालु आर्थिक बर्षको राजश्व सङकलन लक्ष्य विपरित भएको छ ।

उक्त कार्यालयले चालु आर्थिक बर्षको असारमा मात्रै १ अर्ब १४ करोड ९ लाख ३६ हजार राजश्व सङकलनको लक्ष्य राखेकोमा असार ७ गते दिउँसो १ बजेसम्म कार्यालयले मासिक लक्ष्यको तुलनामा १७.४५ प्रतिशत अर्थात मात्र १९ करोड ९० लाख ७१ हजार राजश्व सङकलन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *