गृहजिल्ला आएसँगै सांसद सुदन किराँती क्वारेन्टाइनमा

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए । उनले भने, ‘म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु ।’

मानिसमा पहुंचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताए । ‘हामीमा पहुंचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु’, सांसद किराँतीले भने ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताए । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ । राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आएका हुन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *