गुल्मीको बेतुखर्कमा पहिरो, ७ घर जोखिममा
गुल्मी । गुल्मीको निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा ७ घर जोखिममा परेका छन् ।
अविरल वर्षासँगै आएको पहिरोका कारण ७ घर जोखिममा परेका हुन् । पछिल्लो केही दिनयता लगातारको वर्षाले ती घरका वासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् । घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्न थालेका छन् ।
पहिरोका कारण सडकसमेत भासिएको छ । जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको एक पीडित परिवारले बताए । स्थानीयले केही दिन अघि सडक बिस्तारको क्रममा जोखिमलाई ख्याल गर्न आग्रह गर्दै सडक कार्यालयमा निवेदन पनि दिएका थिए । तर कुनै सुनुवाई नहुँदा स्थानीय जोखिममा परेका छन् ।
पहिरो गएको स्थानमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इन्जिनियर, प्राविधिक, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनपछि तत्काल केही गर्न सकिने काम र वर्षा रोकिएपछि गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।