पढाउँदै नपढाएको शुल्क चाहियो भन्नु हाँस्यास्पदः बाबुराम भट्टराई

काठमाडौं । सरकारले शुल्क नलिन आग्रह गरिरहेका बेला नीजि विद्यालयहरुले अभिभावकहरुसँग भर्ना र मासिक शुल्क बुझाउन आग्रह गरेपछि टिकाटिप्पणी सुरु भएको छ ।

अधिकांशले निजी विद्यालयको यो कदमको विरोध गरिरहेका बेला जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उक्त अनुरोधलाई हाँस्यास्पदको संज्ञा दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले पढाउँदै नपढाएको बेलाको पनि शुल्क चाहियो भन्नु हाँस्यास्पद भएको बताएका हुन् । उनले लेखेका छन्– ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’ पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद ! शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठुलो गल्ती गरेको थियो। ऐले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ । शिक्षा–स्वास्थ्यको राष्ट्रियकरण गरौँ !’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) ले संयुक्त रुपमा विज्ञप्ति निकालेर आइतबार अभिभावकसँग लकडाउन अवधिभरको समेत शुल्क भुक्तानी माग गरेको थियो ।

निजी विद्यालयहरुका हरेक क्रियाकलापका लागि हालसम्म नेपाल सरकाबाट कुनैपनि सहयोग र आश्वासन प्राप्त नभएकाले अहिलेको विषम परिस्थितीमा अभिभावकहरुलाइ शुल्क भुक्तानी गरेर सहयोग गर्न प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तिमा अनुरोध गरिएको छ ।

‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले चैत महिनाको शुल्क र अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनिरहेका बेला नीजी विद्यालयले भने अनलाइन कक्षाको समेत शुल्क लिने बताएको थियाे । सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *