‘नागरिकताबारे नेकपाको निर्णयले दंगा भड्काउँछ, पुनर्विचार होस्’

काठमाडौं । आइतबार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएपछि यसको विरोधमा पनि आवाज उठ्न थालेको छ ।

सत्तारुढ नेकपा बाहेकका मुख्य प्रतिपक्षी दलहरुले उक्त निर्णयको विरोध गरिरहेका छन् । समितिको हिजोको बैठकमा समेत कांग्रेस र जसपाले फरक मत राखेका थिए । भारत र मधेसविचको सम्बन्ध तोड्न नहुने उनीहरुले तर्क राख्दै आएका छन् ।

राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले पनि नेकपाको उक्त निर्णयको विरोध गरेका छन् । वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे कांग्रेसको गम्भीर असहमति रहेको उनको भनाइ छ ।

संसदमा उनले भने, ‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने ? यो अत्यन्त मण्डले राष्ट्रवादी मानसिकता हो । प्रतिक्रान्तिकारी मानसिकता हो। पुनर्विचार होस् ।’

नेकपाको नागरिकता सम्बन्धी निर्णयले नेपाल र भारतबीच रहेको सांस्कृतिक सम्बन्धमा असर पुर्याउने उनले बताएका छन् । उनले के आधारमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्ष राखिएको भन्ने प्रश्न गर्दै नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध कसैले तोड्न नसक्ने पनि बताए ।

‘नेपाल र भारतबीच कल्चरमाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन। विहार र युपीमा मधेशीको सम्बन्धले नेपाली राष्ट्रियता खतरामा जान्छ भन्ने नेकपा कार्यकर्ता भन्ने गर्छन् के यो सत्य हो ? भारत र नेपालबिच संस्कृतिले स्थापना गरेको सम्बन्ध हो, कसैले तोड्न सक्दैन।भारतसँगको सम्बन्ध कट गर्ने गरी तपाईंहरू काम गर्दै हुनुहुन्छ ।’

त्यस्तै अर्का राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंहले पनि सोही विषय उठाए । नागरिकता संशोधन विधेयक सम्बन्धमा भएको निर्णयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

बहुमतको दम्भ, अहंकार देखाएर विना सहमति जबरजस्ती नागरिकता संशोधन विधेयक पारित गरिएको उनको आरोप छ । उनले भने, ‘यो सरकारले मुठभेड निम्त्याउन खोजेको हो ? के भारतीय चेलीहरु जो नेपाली केटासँग विवाह गरेर आउँदैछन्, तीनीहरुले नै राष्ट्रघात गरेका हुन् ? हाम्रो खेतहरु सुख्खा पारेर कोशी बेच्ने, कोशी सम्झौता गर्ने भारतीय चेलीहरु हुन् ?’

सरकारको ध्यान राष्ट्रघातीतिर नभइ एउटा निश्चित समुदाय भड्काउनतिर लागेको पनि उनले आरोप लगाए । सरकारले मधेसी समुदायको संस्कृति, परम्परामाथि प्रहार गरेको उनको भनाइ छ ।

‘जब हामी विवाह गर्छौँ, एक हातमा सिन्दुर एक हातमा नागरिकता दिने ? यस्तो कुरा पनि गरिन्छ । हो, सिन्दुरको धेरै महत्व छ । हाम्रो परम्परामा ७ फेरा लिइन्छ र ७ वटा कसम खाइन्छ कि तिम्रो हक र अधिकारको सुरक्षा हामी गर्छौँ । त्यसैले हाम्रो भावनामाथि, हाम्रो परम्परामाथि, हाम्रो संस्कृतिमाथिको चोट हो यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *