अदालत उपस्थित हुन पिसिआर रिपोर्ट अनिवार्य, परीक्षण नगरेका एक अभियुक्तलाई फर्काइयो
काठमाडौं । जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोना भाइरस (कोभिड १९) को पिसिआर परीक्षण रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ । विद्युतीय कारोबारको आरोपमा अदालत उपस्थित गराइएका एकराम राईको मुद्दाको सुनुवाइका क्रममा सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले यस्तो आदेश जारी गरेको हो ।
अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश दिइएको छ । साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा उल्लेख छ ।
अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरुक्षाकर्मीहरु, सरकारी वकिल एव कानून व्यवसायीहरु र अदालतमा कार्यरत जनशक्तिले समेत कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्ने आदेश जारी गरेको हो । पिसिआर रिपोर्टमा कोरोना नदेखिएको अवस्थामा मात्रै अदालतमा उपस्थित हुन पाइने अदालतको आदेशमा उल्लेख गरेको छ ।
कोरोना परीक्षण नगरिएको भन्दै न्यायाधीश भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न समेत आदेश दिएको छ ।
जेठ २८ गते पक्राउ परेका राईलाई जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्रका साथ सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालत पेश गर्दा उनको हिरासतमै हुँदा गरिएको र्यापिड टेस्ट विधिबाट कोरोना एन्टीवडी परीक्षणको रिपोर्ट पनि पेश गरिएको थियो ।
तर अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेर मात्र अदालत पेश गर्न आदेश दिएको हो । अहिले राईलाई पुन महानगरीय प्रहरी परिसरकै हिरासतमा राखिएको छ ।