सरिता गिरीलाई स्पष्टीकरण सोध्ने समाजवादी पार्टीको निर्णय, चित्तबुझ्दो जवाफ नआए कारबाही

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी पदाधिकारीको सोमबार बसेको बैठकले सांसद गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको र चित्तबुझ्दो जवाफ नआए उनलाई पार्टीबाट कारबाही गरिने जानकारी दिएको हो ।

पार्टी नेता गङ्गानारायण श्रेष्ठका अनुसार उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको तथा नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लङ्घन गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

उनले राष्ट्रिय महत्त्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेका कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको नेता श्रेष्ठले बताए ।

सांसद गिरीले सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसद्मा पेस गरेको संविधान संशोधन विद्येयकविरुद्ध संशोधन दर्ता गराएकी थिइन् । उक्त संशोधन फिर्ता लिन संसदीय दलले निर्देशन दिएको थियो । उनले आफ्नो संशोधन फिर्ता लिन मानिनन् र संसद् बहिष्कार गरेकी थिइन् ।

उनले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *