तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज !

काठमाडौं । संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले निषेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमतिपत्र रद्द हुने व्यवस्था गर्न सुझाव दिएका छौं,’ पहाडीले भने । यही सुझावअनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ ।

ट्राफिक प्रहरीले मदिरा सेवन गरेर ५ पटकसम्म कारबाहीमा परेमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । प्रहरीका अनुसार चालकको लापरबाहीले ४३.७ प्रतिशत, तीव्र गतिले १८.७, ओभरटेक गर्दा ९.८, पैदल यात्रुको लापरबाहीले ९.५, मादक पदार्थ सेवन गरी चलाउँदा ६.२, सवारीको यान्त्रिक गडबडीले ६.१, ओभरलोडले ५.२, सडक चौपायाका कारण ०.४ प्रतिशत दुर्घटना हुने गरेका छन् ।

त्यस्तै, लामो दूरीको सवारीसाधनका हकमा लाइसेन्स लिनेबित्तिकै चलाउन नपाउने व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ । लामो दूरीको सार्वजनिक यात्राका लागि कम्तीमा ५ वर्षको अनुभव भएको चालकसहित जगेडा चालकको व्यवस्था गर्ने प्रावधान राख्नुपर्ने उसमितिले सुझाएको छ । सार्वजनिक तथा ठूला सवारीसाधनका सहचालकलाई समेत यान्त्रिक ज्ञानको सामान्य तालिम दिने व्यवस्था मिलाउन सरकारलाई भनिएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा विकास तथा प्रविधि समितिले विद्यमान कानुन, नीति तथा प्रणालीमा रहेका कमीकमजोरीहरू पहिचान गरी सवारी दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासहरूका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन गणेशकुमार पहाडीको संयोजकत्वमा २०७६ पुस ४ मा उपसमिति गठन गरेको थियो । उपसमितिमा गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रंगमती शाही सदस्य थिए । ईकान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *