हाच्छिउँ गरेर उड्ने कोरोनाको नाममा १० अर्ब किन खर्च गरेको ?

सम्माननीय अध्यक्ष महोदय,

प्रधानमन्त्रीज्यूले केही दिन अगाडी यही हाउसमा पनि भन्नुभएको थियो– अब नेपालमा साउनको अन्तिम सम्ममा कोरोना भाइरसको संक्रमण घट्छ । दशैँ, तिहार र छठपछि बढ्छ । फागुनमा फेरि घट्छ भनेर एक किसिमको प्रक्षेपणहरु गर्नुभएको छ ।

त्यो राष्ट्रिय सभा बैठकको रेकर्डमा पनि छन् ती कुराहरु हामीले हेर्न सक्छौँ । प्रधानमन्त्रीज्यूले यो पनि भन्नुभयो कि नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । यदि सरकारको विश्लेषण, निष्कर्ष यही हो भने अबको स्थिति झन् भयाभव हुन सक्ने हामीले अनुमान गर्न सक्छौँ ।

गत ३ वर्षको आर्थिक सर्वेक्षण रिपोर्ट पनि मैले पल्टाएर हेरेँ । त्यहाँ स्वास्थ्य सम्बन्धी सुचकहरु के कस्तो रहेछ भनेर हेर्दा त्यहाँ पनि नेपालीको स्वास्थ्य अवस्था सन्तोष जनक छैन । खराब स्थिति त्यहाँ छँदैछ । र डब्लूएचओ लगायत अरु विभिन्न निकायहरुले अध्ययन गरी जारी गरेको प्रतिवेदनलाई पनि मैले हेर्दा त्यहाँ पनि बाल मृत्युदरदेखि लिएर मातृ मृत्युदर, भोकमरी, कुपोषणका कुराहरु सबै कुरा हेर्यो भने सन्तोषजनक छैन ।

नेपाल विश्वभरको औषत आयुमा २४ औँ स्थानमा रहेछ । हिमाली जिल्लामा औषत आयु झन् यो भन्दा पनि खराब छ । अब भन्नुस् कसरी नेपालीको प्रतिरोधात्मक क्षमता कसरी बलियो छ ? कसरी उहाँले त्यो कुराको दाबी गर्नुभयो ? भन्ने कुरा अहिले जनस्तरमा उठिरहेको छ ।

प्रधानमन्त्रीज्यूले कुनैबेला संसदमा कोरोना भाइरस पनि कडा र नरम हुने रहेछ भन्नुभएको थियो । कहिले बेसार, कहिले तातोपानी खाऔँ भन्नुहुन्छ । कहिले हाच्छिउँ, साच्छिउँ गरेर उडाइदिउँ भन्नुहुन्छ ।

यसैगरी क्वारेन्टाइनहरुमा अलग–अलग मान्छेका लागि अलग–अलग भान्सा पनि छन् भन्नुहुन्छ । बाथरुम, सौचालय समेत फरक–फरक भएको दाबी पनि गर्नुहुन्छ । यस्तो कुरा कसले ब्रिफिङ गर्छ प्रधानमन्त्रीज्यूलाई ? मुलुकमा समस्याकोे विस्तृत चित्रण देखाउनुपर्यो उहाँलाई । राम्राराम्रा कुराहरु मात्र देखाउने, मुलुकमा सब् ठिकठाक भएका कुराहरु मात्रै ब्रिफिङ गरी प्रधानमन्त्रीलाई भ्रमित पार्नु भएन । प्रधानमन्त्रीज्यूलाई सही सूचना दिनुपर्यो । फोटाहरु छन्, भिडियोहरु छन्, देखाउनुपर्यो ।

प्रधानमन्त्रीज्यू भ्रमित हुनुभयो भने उहाँले जनतालाई पनि भ्रमित पार्नुहुन्छ । प्रधानमन्त्रीज्यू, हामी भन्छौँ तपाईँ सरकार राम्रोसँग चलाउनुस् । यसमा हामी कसैको दाबी, अवरोध केही पनि छैन । मन्त्रीहरुलाई जिम्मेवार बनाउनुस्, सरकारलाई उत्तरदायी बनाउनुस् ।

विज्ञ र चिकित्सकहरुलाई उनीहरुको जे काम हो त्यही गर्न दिनुस् । विज्ञानले सिद्द नगरेका कुराहरुलाई भ्रम पालेर तपाईँ नबस्नुस् । यस्ता भ्रमित कुरा गरेर जनताको जीवनमा खेलवाड गर्ने काम पनि नगर्नुस् । यो त अत्ति नै भएन र ? मैले मात्रै भनेको होइन, मिडियामा हेर्नुहोस् । जन–जनले प्रश्न गरेका छन् । आच्छिउँ, साच्छिउँ गरेर कोरोना उड्ने भए लकडाउन किन गरेको ? आच्छिउँ, साच्छिउँ गरेर उड्ने कोरोनाको नाममा १० अर्ब किन खर्च गरेको ?

प्रधान्मन्त्रीज्यू मिडिया र प्रतिपक्षतिर खनिनुभन्दा सम्बन्धित निकाय, विभाग, मन्त्रालयमा के–के काम भएको छ, त्यहाँ हेर्नुपर्यो । किन काम प्रभावकारी भएन सोध्नुपर्यो । नियामक निकायहरुलाई काम गर्न सक्ने बनाउनुपर्यो । बालुवाटारमा बसेर यो ठिक छ, यो बेठिक छ मात्रै भन्नुभएन ।

यसले गल्ती गर्छ, यसले गर्दैन, यसले भ्रष्टाचार गर्ला जस्तो छैन भनेर मान्छेको अनुहार हेरेर अनुमान गर्नुभएन । कोरोनाको कहरमा कोरोनाले भन्दा अरु कारणले मान्छे मरे । मान्छेहरु ठहरै भए लकडाउनले । अकालमा ज्यान गुमाए । हिंसा र बलात्कारका घटना पनि उतिकै घटिरहेको छ ।

कोरोना महामारीमा प्रतिपक्षले पनि विश्राम लिँदैन र सरकारले पनि लिन पाउँदैन !

(राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले आज (मंगलबार) को राष्ट्रिय सभामा राखेको अभिव्यक्तिको सम्पादित अंश )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *