‘अब हामी धेरै ‘सरिताहरु’ चाँडै अंगीकृत बनाएर सांसद बनाउने मेलोमा छैनौँ’

आन्तरिक राष्ट्रवाद कमजोर भयो । कल्ले गर्या ? राष्ट्रवाद कमजोर पार्ने काम सदनमै आएर उफ्रि–उफ्रि राष्ट्रवादको विरुद्धमा, जातीय सम्प्रदायको पक्षमा, क्षेत्रीय सम्प्रदायको पक्षमा बोल्न थालेपछि कमजोर बनाउने काम आफैँले थालेपछि कमजोर हुने सम्भावना हुन्छ ।

त्यसकारण म ध्यानाकर्षण गराउन चाहन्छु । संस्कृतिमाथि प्रहार भयो, के संस्कृति ? मिथिला संस्कृति, तामाङ संस्कृति, कोचिला संस्कृति, विभिन्न प्रकारका जनजातिका संस्कृति, शेर्पा संस्कृति, कहाँ प्रहार भयो ? कसरी प्रहार भयो ? गर्यो कसैले प्रहार भने त्यहाँ हामी खप्तैनौँ । त्यसकारणले झुटा कुरा, मनगडन्ते कुरा, बेइमानी कुरा, ड्याङड्याङ भन्ने ? सदनमा ? भ्रम पार्ने गरी ? बेइमानी गर्नेगरी ? जनता उछाल्ने गरी ? जनतालाई भ्रम फैलाउने गरी गर्नु भएन नि अध्यक्ष महोदय । यो त संवेदनशील कुरा छ ।

भारतको सम्बन्ध बिगार्ने, चीनको झोला बोक्ने इत्यादी कुरा सदनीय भाषा हो ? सदनमा बोल्ने कुरा हो ? यदी कसैले त्यस्तो बोल्यो भने तपाईँ कुन देशको झोले हो नि भन्यो भने के गर्ने ? तपाईँले कतापट्टिबाट बोल्नुभयो भने भने के गर्ने ? त्यसकारण हामीले प्रष्टसँग काम गर्न सक्नुपर्यो अध्यक्ष महोदय ।

चीन र भारत दुवै हाम्रा छिमेकी । उनीहरुसँग समदुरीको सम्बन्ध अनि हामीले शासन गर्ने तरिका चाहीँ हाम्रो संविधान अनुसार । हाम्रो संविधान, हाम्रो परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त समेतलाई विचार गर्नुपर्यो ।

त्यसैले मैले राष्ट्र र राष्ट्रहितका बारेमा जब बोल्नुपर्छ त्यसपछि संवेदनशील हुनुपर्छ अध्यक्ष महोदय । भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सदनले ऐन बनाएको हो ? यस्तो होइन । संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु बिहे गर्न सक्छन् । त्यो छुट छ । कसैलाई रोकतोक छैन ।

त्यसकारण भारतीय नागरिकहरुलाई मात्र लागु हुने कुरा होइन । विगतका वितरण गरिएका नागरिकताको बारेमा पनि यो ऐन बनाएको होइन । संसारमा सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र होइन कि भन्ने लाग्यो कि कसैलाई ? उतैपट्टि ढल्क्यो कि भन्ने ? त्यसकारणले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितका हामी नागरिकताको बारेमा बोलिरहेका छौँ ।

दक्षिण एशियामा कुनैपनि देश छैन अध्यक्ष महोदय त्यस्तो, जहाँ निःश्वार्थ ड्याम्म बिहे गर्यो, ठ्याम्म नागरिक भयो, ठ्याक्क सांसद भो, ट्याक्क मन्त्री भो । यस्तो छैन । दक्षिण एशियामै छैन । कहीँ पनि छैन । उहाँचाहीँ पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?

अनि बेलायतमा शर्तसहित मात्रै अंगीकृत नागरिक हुने व्यवस्था छ त्यहाँको कानून अनुसार । तीन वर्ष अनिवार्य बस्नैपर्छ । अंग्रेजी भाषा बोल्न, पढ्न, लेख्न जान्नेपर्छ । त्यहाँको धर्म, संस्कृति, रितिरिवाज स्वीकार गर्दछु भनेर सही गरेपछि मात्रै अनि दिन्छ नागरिकता । यति कुरा थाहा छैन ? त्याे कुरा भन्नेलाइ थाहा छैन ?

दक्षिण एशियाका कुरादेखि लिएर मैले यूरोपका कुरासम्म भनेँ । अमेरिकामा पनि त्यही हो । उहिलेदेखि भइरहेको भनिन्छ, त्यसो भन्ने हो भने पञ्चायत किन बदलेको त ? उहिले देखि भइरहेको थियो त ३० वर्ष । १०४ वर्षको राणाशासन किन बदलेको ?

विगतको जहानियाँ शासन थियो अध्यक्ष महोदय, विगतमा निर्दलीय व्यवस्था थियो । विगतमा संक्रमणकालीन शासन चल्यो । विगतमा केन्द्रिय शासन थियो । विगतमा राजतन्त्रात्मक शासन पनि थियो । त्यसले त्यस्तै जान्यो त्यस्तै गर्यो । त्यस्तै लम्पसार पर्यो । अब त्यसको निरन्तरता दिने होइन । एक जमाना त कस्तो थियो भने राजाको सचिव भारतीय हुने । राजाको दरबारमा भारतको मान्छे बस्ने । अब त्यही गर्ने ? हामी संसारसँग समान छौँ अब । सार्वभौमसत्ता प्रयोग गर्न हामी सक्षम छौँ । हामी यूएनएको सदस्य बनेका छौँ ।

देशमा गणतन्त्र आएको छ । लोकतन्त्र आएको छ । त्यसकारणले अध्यक्ष महोदय यस्तो कुरा गर्न गरिमामय संसदमा सुहाउँदैन । कुनैपनि नेपाली नागरिकलाई बिहे गर्न रोकिएको छ ? छ भने भन्नुपर्यो । कहाँ रोक्या छ ? छैन ।

विदेशीसँग बिहे गर्न पाइन्छ । मज्जाले गर्नू । के को भारतसँग मात्रै, क्यानडामा पनि गर्नु । त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री, सांसद बनाउने मेलोमा छैनौँ ।

हामी दुई देशको मित्रता सुदृढ गर्छौँ तर सिमाना खुल्ला राख्दैनौँ । अन्तराष्ट्रिय मान्यता अनुसार गर्छौँ । खुला नागरिकता, लापरवाहीपूर्ण सम्झौता गर्नुहुँदैन । अबको नेपाल आधुनिक नेपाल । स्वाभिमानी नेपाली । हामी चीन र भारतको मोडलमा पनि जाँदैनौँ । हामी नेपाली हौँ, नेपाली मोडेल अनुसार जान्छौँ ।

(राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले आज (मंगलबार) को राष्ट्रिय सभामा राखेको अभिव्यक्तिको सम्पादित अंश )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *