कांग्रेसलाई वेदुरामको प्रश्नः हामीले आफ्नो कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ ?

काठमाडौं । सत्तारुढ नेकपा सांसद वेदुराम भुसालले नेपाली नागरिकसँग विवाह गरेका महिला अंगीकृत नागरिकता संविधान अनुसारकै काम भएको बताका छन् । आज (मंगलबार) को राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा उनले नेपालले कानुन बनाउँदा भारतलाई किन सोध्नुपर्ने भन्दै प्रश्न समेत गरे । ‘नेपालले जब स्वतन्त्र ढंगले आफ्नो निर्णय गर्छ । तब–तब किन नेपाललाई भारतबाट टाढा भएको, चीनतिर ढल्केको भन्न खोजिन्छ ? यसको मतलब हो नेपाललाई भारतको चंगुलमा राख्ने दृष्टिकोण । जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउन खोजेको किन नभन्ने ?’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाको हकमा ७ वर्ष पुगेपछि मात्र अंगीकृत नागरिकता दिने संशोधित विधेयक पारित गरेपछि प्रतिपक्ष दलहरुले यसको विरोध गरिरहँदा सांसद भुसाल भने यसको बचाउमा उत्रिए । उनले प्रतिपक्षले दिएका अभिव्यक्तिको खण्डन समेत गरेका छन् ।

सोमबारको बैठकमा कांग्रेसका सांसद जितन्द्रनारायण देवले सात वर्षे प्रावधानले राजनीतिक दुर्घटना हुने भन्दै अभिव्यक्ति दिएका थिए । सांसद भुसालले उक्त अभिव्यक्तिको पनि खण्डन गरे । उनले देशमा दुर्घटना निम्त्याउने चेतावनीको जवाफ दिँदै भने, ‘के को लागि दुर्घटना गराउन खोज्नुहुन्छ ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटे भाइ बनेन नेपाल भनेर ? हामीले आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ ?’

उनले ७ वर्षपछि विदेशी बुहारीलाई नागरिकता दिँदा भारतसँगको सम्बन्ध बिग्रन्छ भन्नु कपोलकल्पित भएको समेत बताएका छन् । भारतकै कानुनमा अंगीकृत नागरिकताका लागि ७ वर्षको प्रावधान रहेको भन्दै भारतमा आधार कार्ड दिइएजस्तै नेपालमा पनि स्थायी आवासीय पत्रको व्यवस्था गरेको पनि उनले बताए बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *