प्रधानमन्त्रीको बालहठः डाक्टर, वैद्य, न्यायाधीश सबै आफैँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले बालहठ देखाएको टिप्पणी गरेकी छिन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै महामारीका समयमा पनि प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति तथा जवाफ दिएको भन्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

‘कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । मुलुकको प्रधानमन्त्रीले बेसार, अदुवा खाएर हाँछ्यू गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उहाँ आफैँ डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको भान हुन्छ। यो विषय आज मजाक बन्न पुगेको छ’, सांसद संग्रौलाले भनिन् ।

कोरोना नियन्त्रणको लागि जनताले सरकारबाट स्पष्ट मार्गचित्र र पहलकदमी खोजेका हुन् तर आफ्नो कमजोरी छोप्न कथित बेसारे आइडोलोजीको ज्ञान जनतालाई मन नपरेको उनको भनाइ छ ।

मुलुक अहिले अत्यन्त कठिन, असहज र जटिल परिस्थितिबाट गुज्रिरहेको अवस्थामा यसबाट मुक्ति दिनु राज्यको दायित्व भएपनि सरकार दिनप्रति दिन असंवेदनशील, अकर्मण्य, अनुदार र विवादित बन्दै गइरहेको उनले आरोप लगाइन् । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै जिम्मेवार बन्दैनन् भने अरु मन्त्रीको के कुरा गर्ने ? उनले प्रश्न समेत गरेकी छिन् ।

‘कोरोनाजस्तै अर्को खतरनाक भाइरस भ्रष्टाचार बन्न पुगेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकारको अकर्मण्यता र असक्षमता प्रदर्शन भइसकेको छ। एकतिर कोरोनाको पीडा छ भने अर्कोतिर जनताको करबाट उठेको पैसामा सरकारको भ्रष्टाचारको रजाईं छ। यस्तो खतरनाक भाइरसले नेपालीलाई पीडाबोध गराएको छ’, सांसद संग्राैलाकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *