गाँजा, जंगली पशुको सिङ्, छाला सहित तीन पक्राउ
धरान । इलाका प्रहरी कार्यालय धरानले बुधबार धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुका स्थित एक्लेवर चौतारा नजिकै टेम्पोमा गाँजा र जंगल पशुको सिङ्, छाला र पंक्षिको प्वाँख लगायतका बस्तु सहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा को २ ह ५४४७ नम्बरको टेम्पो चालक धरान ११ सिमाना चोकका २९ बर्षीय नन्दीमान राई, धनकुटाको सहिदभुमी गाउँपालिका १ छिन्ताङ घर भएका १९ बर्षीय दिनेश भन्ने सविन राई र उदयपुरको कटारी नगरपालिका २ ताप्लीका २० बर्षीय सागर राई रहेका छन् ।
उनीहरुलाई बुधबार साँझ करिब ६ बजेको समयमा विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चाँदी बजारबाट धरान तर्फ यात्रु समेत बोकेर आइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
शंका लागेर टेम्पो रोकेर चेकजाँच गर्दा यात्रु बस्ने सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा २ पोका २ सय ४५ ग्रामको गाँजा सँगै जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखि सानो र ठुलो गरी १८ वटा प्वाँख र जंगली जनवार घोरलको सिंङ् जस्तो देखिने स साना सिंग ४ वटा पनि वरामद गरिएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन ।
यस्तै, कस्तुरीको सिंङ् जस्तो देखिने छाला सहित २ वटा सिंग पनि वरामद भएको छ । उनीहरुलाई लागुऔषध र जंगली जनवारको सिंङ्, पंक्षीको प्वाख ओसारपसार गर्ने टेम्पो सहित तीन जनलाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।