भारतमा एकैदिनमा १७ हजार नयाँ सङ्क्रमित, ४०७ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।
अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या ४ लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । ती मध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार विहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।
उनीहरुले भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल सङ्क्रमित मध्ये ५८.२४ प्रतिशत बिरामी सङ्क्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन् । (रासस/पिटिआई)