अब कहिले पाइएला यस्ता लिडर जसले परिवर्तनकाे सपना देखेका थिए !
काठमाडौं । स्वर्गिय मदन भण्डारीले नेपाली राजनीतिमा जुन उचाई हासिल गरेका थिए त्यसैगरी सामाजिक र आर्थिक क्षेत्रमा उदाएका व्यक्तित्व थिए स्वर्गिय दिनेश कुमार चौधरी । पश्चिम नेपालको दाङमा जन्मिएर पूर्वको सुनसरीलाई कर्मथलो बनाएका चौधरी कुशल लिडर, सहकारी अभियान्ता, सामाजिक चेतनाको संवाहक थिए । स्वर्गिय दिनेश कुमार चौधरीको २०६४ साल असार १२ गते अर्थात आज भन्दा १३ वर्ष अगाडी सडक दुर्घटनामा निधन भएको थियो ।
आफ्ना बुबाको उपचार गरेर एम्बुलेन्समा दाङ घर फर्कने क्रममा अनियन्त्रित रुपमा आएको ट्रकको ठक्करबाट दुर्घटनामा उहाँसँगै उहाँको बाबाको समेत निधन भएको थियो ।
आमा महेश्वरी देवी चौधरीको कोखबाट २०२६ बैशाख २ गते दाङमा दिनेश चौधरीको जन्म भएको थियो । उनले कक्षा १ देखि कक्षा ३ सम्म सरस्वती माध्यामिक विद्यालय अध्ययन गरेका थिए । त्यसपछि वाल जनता माध्यामिक विद्यालय (हाल वाल जनता उच्च मा.वि, साबिक चैलाही गा.बि.स. हाल लमही मा कक्षा ८ सम्म अध्ययन गरे । भने, कक्षा ९ देखि १० सम्म पद्म पब्लिक नमूना विद्यालय पाल्पा तानसेनमा अध्ययन गरे । एस.एल.सि. पछि उच्च शिक्षाको लागि उनी काठमाडौं आएका थिए । उनले कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
विद्यार्थी कालदेखि नै सामाजिक भावनाले ओतप्रोत भएका स्व. चौधरीले छोटो समयमा समाज, राष्ट्र र समुदाय प्रति गरेको काम अविश्वमरणीय छ । ग्रामिण भेगका महिलालाई आर्थिक शशक्तिकरणमा अगाडी बढाउन होस् वा थारु समुदायको आर्थिक, सांस्कृतिक तथा सामाजिक सचेतनामा उनले चालेको कदम अनुकरणीय रहेको उनका समकक्षीहरुको भनाई छ ।
‘समाजमा विद्यमान विभेदको अन्त्य गर्न आफ्नै घरबाट शुरुवात गर्नुपर्छ ।’ भन्ने मूल मन्त्रका साथ युवावस्थामै समाज, राष्ट्रप्रति चिन्तनशील स्व. दिनेशकुमार चौधरीको सुनसरी दुहवीकी भगवती चौधरीसँग २०५१ सालमा विवाह भएको थियो । पितापुर्खाको घर दाङ भएपनि दिनेश चौधरीले आफ्नो कर्मथलो सुनसरीलाई बनाउनु नै ठूलो परिवर्तनको काम थियो ।
उनले सुनसरीको दुहवी आएर ग्रामिण महिला उत्सुकता मञ्च (फरवार्ड) स्थापना गर्दै तराई मधेशमा ब्याप्त सामाजिक, आर्थिक तथा लैङिक विभेद अन्त्य गर्न काम गरे । उनले दुहवीबाट सुरु गरेको आर्थिक अभियान अहिले उनकी श्रीमती भगवती चौधरीको नेतृत्व र व्यवस्थापनमा देशव्यापी भएको छ । अहिले फरवार्ड नेपाल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड बचत तथा ऋण सहकारी संस्था, फरवार्ड इन्टरप्राइजेज जस्ता बहुआयामिक संस्थाहरुले स्व. चौधरीको समाज सेवा र राष्ट्र सेवालाई जिवन्त बनाइरहेका छन् ।
स्व. चौधरीको मार्गदर्शन र सपनालाई साकार पार्न अहोरात्र खटिइरहेकी श्रीमती भगवती चौधरीको कुशल नेतृत्वले लाखौं नेपाली महिलाहरुलाई स्वाबलम्वनको पथमा डोहोर्याएको छ । हज्जारौं महिला स्वरोजगार भएका छन् । आत्मनिर्भर भएका छन् । घुम्टो उठाएर चुल्हो चौकाबाट बाहिरिएका छन् । सामाजिक कूसंस्कार विरुद्ध मोर्चावन्दी भएका छन् ।
आज तिनै सामाजिक अभियन्ता, परिवर्तनका संवाहक, समाज र राष्ट्र निर्माणका कुशल नेतृत्वकर्ताको स्मृति दिवस हो । सादा जिवन उच्च विचारबाट प्रेरित स्व. दिनेश चौधरीको व्यक्तित्व अहिलेको परिवेशमा मुलुकका लागि अपरिहार्य थियो । तर, उनले १३ वर्ष अघि नै यस धर्तीलाई छाडेर गए ।
१४ वर्ष श्रीमानको प्रेरणा, सामिप्यता र साथ पाएकी महिला नेतृ चौधरीको नजरमा उनको व्यक्तित्वबाट प्रभावित नहुने व्यक्ति कोही थिएनन् । ‘दिनेशजी कुशल लिडर हुनुहुन्थ्यो, सफल व्यवस्थापक, सहकारी अभियान्ता, कुशल ट्रेनर हुनुहुन्थ्यो । १४ वर्ष विताउँदा मैले सायदै रिसाएको वा अरुलाई दुखः हुने कार्य गरेको पाइन ।’ नेतृ चौधरी भन्छिन् ।
तत्कालिन समयमा घरको चुल्हो चौकादेखि बाहिर निस्कन दिनेश चौधरीले नै भगवती चौधरीलाई हौसला दिएका थिए । ‘एकात्मक सामाजिक तथा परम्परागत सांस्कृतिक रुढिबाढि संस्कारबाट ग्रसित समाजका विरुद्ध संघर्ष गर्न घरबाट बाहिर निस्कँन मलाई नै उहाँले नै ‘तिमीमा क्षमता, आँट, साहस छ, त्यसलाई समाज परिवर्तन र महिला मुक्तिका खातिर प्रयोग गर । तिमीले यो देश र यहाँका तमाम शोषित पिडित महिलाका लागि गर्न सक्छौं ।’ भन्नु भएको थियो ।’ पूर्वराज्यमन्त्री समेत रहिसकेकी नेतृ चौधरी भन्छिन् ।
तराईमा व्याप्त आर्थिक, सांस्कृतिक, सामाजिक कुसंस्कार र महिला माथिको हिँसा अन्त्य गर्न तथा आर्थिक अधिकार प्राप्तिका लागि दिनेश चौधरीको भूमिका महत्वपूर्ण छ । त्यसो त ०५१ सालमा दिनेश र भगवती चौधरीको बैबाहिक सम्बन्ध पनि एक प्रकारको सामाजिक सांस्कृतिक क्रान्ति नै थियो ।
‘उहाँमा समाजसेवाको भोक थियो । सम्पन्न शिक्षित परिवारको भएपनि दिनदुःखी र कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्नुपर्छ भन्ने सोच थियो ।’ कमैया प्रथा विरुद्ध दिने चौधरीसँगै बेस नामक संस्थामा रहेर काम गरेका नहकुल केसी भन्छन् ।
दिनेश चौधरी आफ्नो जातिय कला संस्कृतिको प्रवद्र्धन र संरक्षणमा पनि उत्तिकै सक्रिय थिए । दाङबाट सुनसरी आएर चेतना अभिबृद्धि केन्द्र नामक संस्थामा रहेर काम गरे । थारु समुदायको उत्थानका लागि थारु सांस्कृतिक समाजको केन्द्रिय अध्यक्ष, थारु समाज केन्द्र दाङ काठमाडौंको कोषाध्यक्ष भए । ०४९ सालमै थारु सांस्कृतिक समाज गठन गरेका थिए । २०५० सालमा चितवनमा देशभरका थारु युवाहरुको मिलन समारोह गराए । त्यहिवर्ष सप्तरीमा थारु सांस्कृतिक महासम्मेलन उनकै अग्रसरतामा भयो । ‘मुलुकको विकास कसरी गर्नुपर्छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्नेमा उहाँको ध्यान हुन्थ्यो । जस्तो सुकै समस्या आइपर्दा पनि त्यसलाई हल गर्न सक्नुहुन्थ्यो ।’ नेतृ भगवती चौधरी भन्छिन् ।
सामाजिक क्षेत्रसँगै उनी पारिवारिक कामप्रति पनि उत्तिकै जिम्मेवार थिए । घरपरिवार प्रतिको दायित्वमा कहिल्लै पछि हटेनन् । सधैं हासेर मात्र बोल्ने उनी कसैसँग बैरभाव राख्दैनथे । आफ्नै प्रतिष्पर्धीले कुरा काटिरहेको, विरोध गरेको देख्दापनि रिस देखाउँदैनथे ।
आज भगवती चौधरीले सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा जुन स्थान हासिल गरेकी छिन् त्यसमा दिनेश चौधरीको प्रेरणाको ठूलो भूमिका छ । सामाजिक विक्रिति विसंगतिलाई चिर्दै एउटी महिलालाई घरदेखि बाहिर ल्याउन हिम्मत दिनेश चौधरीले नगरेको भए आज भगवती चौधरी अढाई लाख महिलाहरुलाई साथ लिएर समाज परिवर्तन, राष्ट्रनिर्माणमा लाग्ने थिइनन् कि !
‘उहाँ कामप्रति यत्ति लगनशील हुनुहुन्थ्यो कि, कहिले काँही एउटै काममा दुई चार दीनसम्म कोहिसँग नबोली काम गर्न सक्नुहुन्थ्यो । मलाई पनि हरदम यस्तै गर्न अभिप्रेरित गर्नुहुन्थ्यो । ‘आफ्नो लागि त सबैले गर्छन्, तर अरुको लागि गर्नु र बाँच्नु जिवनको साँचो अर्थ हो ।’ उहाँले भनेको यी विचार मेरा लागि अहिले पथप्रर्दशक भएका छन् ।’ श्रीमती चौधरी भन्छिन् ।
उदयपुर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीपनि दिनेश चौधरीलाई सामाजीक अभियन्ता र थारु समुदायलाई अगाडी बढाउनुपर्छ भन्ने सकारात्मक सोच भएको युवाका रुपमा लिन्छन् । ‘बिकृती बिंसंगती कुरीतीलाई हटाउनुपर्छ भन्ने भावना बोकेको योद्धा हुनुहुन्थ्यो । थारु समुदाय पहिल्यैदेखि आर्थिक रुपमा कमजोर थिए । उनीहरुको आर्थिक अवस्था उकास्नको लागि कृषि, व्यवसाय तथा सहकारीमा आवद्ध हुनुपर्छ भन्नु हुन्थ्यो ।’
आर्थिक समृद्धिको लागि तल्लो तहका जनताको बिकास गर्नुपर्छ भन्ने दिनेशजीको सोचले महिलाहरुको क्षेत्रमा ठुलो क्रान्ती ल्याएको उनको भनाई छ । ‘उहाँ पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्नुभयो । सादगी हुनुहुन्थ्यो । उहाँ प्रचारमा भन्दा काममा विश्वास गर्नुहुन्थ्यो ।’ मेयर चौधरी भन्छन् ।
पूर्वमन्त्री रामजनम चौधरी दिनेश चौधरीलाई दासताको जिवन रुपान्तरण गर्ने युवाका रुपमा हेर्छन् । उनमा काम गर्ने जोश जाँगर रहेको स्मरण गर्दै चौधरीले गरीबी दासता जीवनमा रहेका थारुलाई रुपान्तरण गर्नुपर्छ भन्ने दिनेशजीको सोचले ठूलो परिवर्तन ल्याएको बताउँछन् ।
‘पहिला थारु समुदायका बालबालिका कमलरी बस्थे । तिनीहरुलाई शिक्षाको पहुँचमा पुर्याउने उहाँको अभियान थियो । उहाँकै अभियान पछि धेरै थारु विद्यार्थी विद्यालय पुगेका छन् । वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भए ।’ पूर्वमन्त्री चौधरी भन्छन् । उनले दिनेश चौधरीलाई साधारण देखिने असाधारण व्यक्तिका रुपमा लिए । ‘जोसँग पनि घुलमिल हुने, सानादेखि ठूलासम्मलाई रिजाएर राख्न सक्ने उहाँको व्यक्तित्व थियो ।’
दिनेश चौधरी कस्ता व्यक्तित्व थिए घरपरिवारका लागि भन्दा बाहिरकालागि कहाँ थाहा होला र । भाई करन चौधरीका नजरमा उनी लगनशील, कर्मशील थिए । ‘हाम्रो घर दाङ्ग भएपनि दाजुले सुनसरीलाई कर्मथलो बनाउनु भएको थियो । सामाजिक क्षेत्रमा अविछिन्न लाग्ने दाई र भाउजु मिलेर फरवार्ड नेपाल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था खोल्नु भएको थियो । उहाँहरुको मेहनत परीश्रम र धैर्यताले संस्थालाई नयाँ उचाईमा पुर्याउनु भएको थियो ।’ करण चौधरी भन्छन् ।
दिनेश चौधरीमा सकारात्मक सोच राख्ने, सामाजिक कामप्रति लगाव भएको, संस्थागत बिकास गर्नुपर्छ भन्ने दुरदर्शी सोच थियो । ‘सबैसँग मित्रवत ब्यवहार गर्ने उहाँ कहिल्लै रिसाएको याद छैन मलाई । उहाँको नेतृत्वमा संस्थामा काम गर्दा मैले संघर्ष के हो, सुखदुखमा कसरी सरल र सहज जिवन बनाउने भन्ने जिबन उपयोगी ज्ञान तथा संस्थागत बिकास सम्बन्धी धेरै कुरा सिक्न पाएको थिए ।’ उनी भन्छन् ।
छोरा द्रव्यराज चौधरीले बुबासँग धेरै समय ब्यतित गर्न पाएनन् तर, उनी आफ्ना बुबालाई आदर्श व्यक्तिका रुपमा लिन्छन् । उनी ६ वर्षको उमेरबाटै दार्जलिङमा बसेर पढें । हरेक वर्ष ३ महिने लामो विदामा घर आउँथे । त्यहिबेला हो उनले बुबासँग सामप्यिता पाएको । ‘म वर्षको एकदुई पल्ट घर आउँदा उहाँसँग हाँस्न खेल्न पाउँथे, बुबा आफ्नो कामप्रति इमान्दार हुनुहुन्थ्यो । लगनशील हुनुहुन्थ्यो ।’ उनी भन्छन् ।
द्रव्यराजले १० वर्षको उमेरमै बुबा गुमाए । बुबासँगका यादहरु धेरै नभएपनि केहि यादहरु उनको जिवनमा कहिल्लै नमेटिने गरेर बसेका छन् । ‘बाबा सानासाना कुरामा खुसी हुनुहुन्थ्यो ।’ उनी भन्छन् । द्रव्यराजलाई बुबा रिसाएको, गाली गरेको थाहा छैन । ‘मलाई सधैं आफ्नो मनले चाहेको काम गर्नुपर्छ, जुनै क्षेत्रमा मन लगाएर मेहनत गरे सफलता पाइन्छ भन्नुहुन्थ्यो । बुबाको सबैभन्दा ठूलो कुरा भनेको सकारात्मक सोच हो । उहाँका अगाडी जस्तै रिसाहा मान्छे आएपनि उहाँ हासेपछि शान्त हुन्थ्यो ।’ द्रव्यराज बुबालाई सम्झन्छन् ।
अभिवक्ता विनोद कुमार चौधरी दिनेश कुमार चौधरीलाई समाज परिवर्तनका वाहकका रुपमा लिन्छन् । दिनेश कुमार चौधरी सामाजिक अगुवाका रुपमा समाजको परिवर्तन तथा सामाजिक सुधारका कार्यमा सदैव सकृय सामाजिक व्यक्तित्व रहेको उनको भनाई छ । ‘समाजका पिछडिएका बर्ग, समुदाय तथा जातजातिको आर्थिक सुधारसँगै सामाजिक विक्रितिका बिरुद्ध संघर्ष गर्दै आफ्ना आवाजलाई बुलन्द गर्नु हुन्थ्यो । समाजको सामुहिक हितका लागि निडर भएर आफ्ना बिचारहरु उच्च तहका सरोकारवालाहरुका माझ राख्नु हुन्थ्यो ।’ स्वर्गिय दिनेश कुमार चौधरीले सामाजिक सुधार तथा सामाजिक मुद्दामा काम गर्दा कहिल्यै थकाई महसुस नगरेको उनको भनाई छ ।
सीप तथा दक्षता अभावका कारण बेरोजगार भई सदियौं देखी गरिवीको रेखामुनी रहेर पिल्सिएका मानिसलाई सीप दिलाई रोजगार बनाउने काममा उनको विशेष योगदान छ । फरवार्ड माइक्रोफाइनान्समा कार्यरत लक्ष्मीकृष्ण श्रेष्ठका नजरमा स्वर्गिय दिनेशकुमार चौधरी दक्ष प्रशासक, कुशल सहजकर्ता, सामाजिक अभियान्ता, दुरद्रष्टा तथा मेहनती युवा थिए ।
‘उहाँमा कहिल्यै “प्रशासक हुँ” भन्ने घमण्ड थिएन । असल सहकारी अभियन्ता, कुशल सहजकर्ता तथा दुरद्रष्टा हुनुहुन्थ्यो ।’ उनी भन्छन् । ‘दिनेश सरको अकल्पनीय निधनबाट उहाँका परिवारले असल पुत्र, असल पति, असल पिता, असल भाइ, असल दाजु गुमाउनु त पर्यो नै, समाजले पनि असल समाजसेवी, असल सहकारी अभियन्ता, असल प्रशासक गुमाउनु पर्यो ।’
दिनेश कुमार चौधरीको अकल्पनीय निधनले थारु समुदायलाई मात्र हैन समग्र देशलाई नै क्षती पुगेको छ । खासगरी महिला शशक्तिकरण, लघुवित्त क्षेत्रका लागि काम गर्न दिनेश चौधरीसँग ठोस योजना थिए । सपना थिए । उनको असामयिक निधनले ती योजना र सपनाहरु तिल्मिलाए ।
अहिले फरवार्ड नेपाल मार्फत देशभरका महिलालाई संगठित गर्दै समाजमा व्याप्त विक्रितिविसंगति विरुद्ध आवाज उठाउने स्वर्गिय दिनेश चौधरीको योजना उनकी धर्मपत्नी भगवती चौधरीले पुरा गर्दै आएपनि चुनौतिहरु धेरै छन् । ‘सायद उहाँ भइदिएको भए उहाँको योजना, सपना अझ फराकिलो र बलियो हुन्थ्यो, मलाई उहाँको अभाव फिल भइरहन्छ । तथापि, कर्म गर्नुछ । उहाँले फरवार्डलाई देशब्यापी बनाउनु पर्छ भन्नु भएको थियो, म त्यसैमा लागेकी छु ।’ उनी भन्छिन् ।
यतिबेला मुलुकमा असल प्रशासक, असल नेतृत्वकर्ता र असल मार्गदर्शकको खाँचो छ । जनता आर्थिक, सामाजिक, राजनीतिक विकास माग्दैछन् । तर, हाम्रा प्रशासक सत्ताको खिँचातानीमा रुमलिएका छन् । भ्रष्टाचारको दलदलमा भासिएका छन् । मदन भण्डारीले मुलुकको विकासका निम्ति समाजवादको परीकल्पना गरे । बहुदलिय जनवादको सपना बाँडे तर, तीनै मदन भण्डारीको सिद्धान्तलाई टेकेर जनतालाई समृद्धशाली बनाउने भिजन भएका नेताहरु भएनन् । अब फेरी मदन भण्डारी र दिनेश कुमार चौधरी जस्ता भिजन भएका लिडर कहिले पाइएला र ?