रोपाइँ महोत्सवः मास्क र सेनिटाइजर अनिवार्य, हिलो छ्याप्न नपाइने !
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका बिच पनि यो वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने भएको छ । यद्यपी महोत्सवमा केही शर्त राखिएको छ ।
कृषि विभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइएपनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न पाइने छैन ।
कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सवका लागि यस्तो प्रोटोकल तयार गरेको हो । कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ, ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने ।’
सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने बताइएको छ । भौतिक दुरी पनि कायम गरिनेछ । सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।
रोपाइँमा पनि ज्वरो नापेर मात्रै सहभागी गराइने छ । सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।
यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम कषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको सहभागितामा उदयपुरको त्रियुगा नगरपालिका हुने जानकारी दिइएको छ । काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ ।