नेकपा स्थायी कमिटी बैठकः नेपाल-भारत सीमामा तारबार लगाउन सुझाव, अर्काे बैठक भोलि

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे छलफल गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका राखेपछि सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका थिएनन् । परराष्ट्र मन्त्री तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल  गरिरहेको भए पनि भारतले सकारात्मक तत्परता नदेखाएको बताएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार अन्य स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएका थिए । बैठकमा बाेलेका केही सदस्यहरुले नेपाल–भारत सीमा क्षेत्रेमा तारबार लगाउन समेत सुझाव दिएका छन् ।

सदस्यहरुले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणासमेत राखेका छन् । बैठकमा १८ जना सदस्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले आ–आफ्नो धारणा राखेका हुन् ।

अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *