बेसार महात्म्यपछि अब कोरोना जन्तर !

काठमाडौं । बुधबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच घोचपेच चलिरहेको छ । बैठकमा सहभागि स्थायी कमिटी सदस्यले ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेका थिए ।

यतिमात्रै होइन उक्त कार्ड लगाएर नेकपाका केही नेता सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थाले । शुक्रबारको स्थायी कमिटी बैठकमा सहभागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा यो कार्ड देखिन्थ्यो । वरिष्ठ नेता माधवकुमार नेपालले त आफैँले घाँटीमा भिरेका थिए । झलनाथ खनाल, ईश्वर पोखरेललगायतका नेताहरूले पनि यो लगाएको देखिन्थ्यो ।

कोरोना भाइरसको महामारीका बेला नेताहरुको घाँटीमा झुण्डिएको ‘भाइरस रिभुभिङ कार्ड’ धेरैको ध्यान तानेको छ । आखिर कहाँबाट आयो त यो भाइरस रिमुभिङ कार्ड ? कसले वितरण गर्‍यो यो कार्ड ? यसले कसरी काम गर्छ ? धेरैले यी प्रश्‍नको उत्तर खोजिरहेका छन् । नेता नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए । व्यक्तिगत खर्चमा नै उनले त्यसरी वितरण गरिरहेको नेताहरूले बताएका छन् ।

सांसदसमेत रहेका नेकपा नेता मुकुन्द न्यौपाने शुक्रबार बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा यो कार्ड भिरेर सहभागी भएका थिए । कार्डबारे उनले भने, ‘केटाकेटी हुँदा धामीले एउटा जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लागएर हिँड्छन् रे । घाममा नदेखाउनु भन्ने नियम रहेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा बेसार पानीले कोरोना रोग निको हुन्छ भनेका थिए । भाइरस रिमुभिङ कार्डबारे जनचासो बढिरहेका बेला जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा नेताहरुलाई व्यंग्य गर्दै भने- ‘बेसार महात्म्यपछि अब कोरोना जन्तर !’

स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपालले बाडेको भनिएको ‘भाइरस रिमुभीङ कार्ड’ माथि डा. भट्टराईले व्यग्य गरेका हुन् । उनले विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेका यस्ता प्रचारबाजीले देशका जिम्मेवार नेताहरुले गर्दा कसैको ज्यान गयो भने को जिम्मेवार हुन्छ भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्- ‘एउटाको बेसार महात्म्य अर्काको कोरोना जन्तर !यस्ता अप्रमाणित कुरा बाँडेर ज्यान गयो भने को जिम्मेवार हुने?द्वन्दात्मक भौतिकवादी नेकपाका कणहरू किन यस्तो उल्टो दिशातिर?विचरा बुढा मार्क्सको दारी उखेलेर सिध्याउने भए उनको नाउँ भजाएर सत्तामा पुग्नेहरूले!बुढाले भनेकै हुन्-I am no Marxist!’

के हो ‘कोरोना कार्ड’ ?
अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ वास्तवमा एफडीएमा दर्ता नै नभएको देखिएको छ । त्यति मात्र नभई एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामाग्रीहरुको प्रयोग नगर्न नै सुझाव दिइएको पाइएको छ ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामाग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन ।

एफडीएले मार्च ८ मा एउटा सूचना नै प्रकाशित गरेर ‘क्लोरिन डाइअक्साइड’युक्त कुनै पनि सामाग्रीले कोभिड-१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कहिँकतैबाट पनि पुष्टि नभएको जनाएको देखिन्छ । साथै, त्यस प्रकारको दाबी गर्दै सामाग्रीको बिक्री वितरण गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामाग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन । एसिया क्षेत्रमा भियतनाम र थाइल्याण्डले यस्ता सामाग्रीको बिक्री वितरणमा प्रतिबन्ध नै लगाएको छ भने केही देशमा भने बिक्री वितरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *