मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कथा-रूखहरू लाजले झुकिरहे

रामशेखर नकर्मी
अनुवाद: सुरेन्द्रराज गोसाई

‘ए साथी, हेर त ! आज त महाराज सवारी हुने हो क्यारे, स्वागतद्वारहरू बनाइएका छन् ।’

‘स्वागतद्वारहरू भव्य छन्, साह्रै आकर्षक ढङ्गले सिँगारिएका छन् । द्वारमा टाँगिएको रातो तुलमा लेखिएका सेता अक्षर टलक्क टल्किएका छन्– हाम्रा प्यारा महाराजको जय जय होस्, हाम्रा राजा महाराज दीर्घायु रहून् !’

महाराजको जय होस् भन्ने कामना गर्दै राजाको स्वागतमा सक्दो बढी सिँगारिएका दुईचार ओटा त्यस्ता द्वारहरू देखेपछि हामीमा पनि खुसीको बाढी आयो । ‘अहो ! महाराज सवारी हुने ! कस्तो सौभाग्य !’

जङ्गल भए पनि समथर ठाउँभरि मान्छे र मोटर थिए । पाइला राख्ने ठाउँ नै थिएन । मानिसहरूको खैलाबैलाले पूरै जङ्गल प्रतिध्वनित भइरहेको थियो । ‘पख, महाराज सवारी भएको हेरेर मात्र जाऊँ !’ भन्ने आवाज जताततै सुनिन्थ्यो । ‘महाराज कहिले सवारी हुन्छ ?’ भन्ने उत्सुकताले भरिएको प्रश्न र राजालाई राम्ररी देखिने ठाउँमा बसेर हेरौं भन्ने आत्मीयताले भरिएको आवाज पनि त्यहाँ गुन्जिरह्यो । भनौं, त्यस दिन त्यहाँ महाराजको मात्र चर्चा थियो, सबैमा महाराजको दर्शन गर्ने मात्र अभिलाषा थियो ।

सबैको मनमा राजा मात्रै ! सबैका आँखा महाराज सवारी हुने बाटातिर थिए । अहो ! राजाप्रति जनताको कस्तो आस्था, कत्रो भक्ति ! लोकको राजाप्रति कति माया, कति श्रद्धा ! आफ्नै पितालाई भन्दा बढी मन पराउने, आफ्नै प्राणभन्दा पनि प्यारो, भगवान् भन्दा पनि महान् राजा !

जनताको मात्र के कुरा, त्यहाँको वातावरण समेत राजा सवारी हुने भएकोले असाध्यै सुखद र चञ्चल थियो । शीतल हावाले ‘राजा सवारी हुने कुरा थाहा पायौ ?’ भनी झ्याली पिटिरह्यो । खोलानालाहरू ‘महाराजाधिराजको जय ! महाराजाधिराजको जय !!’ भन्दै हतारिंँदै बगिरहेको भान हुन्थ्यो । मानाैं महाराजको सवारीले गर्दा उनीहरूका सारा दुःख समाप्त हुनेछन् । जङ्गलका रूखहरू पनि महाराज सवारी भएपछि अभिवादन गर्नुपर्छ भनी सिपाहीहरू झैं अनुशासित, शान्त र सजग भई ठिड्ड उभिरहेका थिए । ससाना रूखबिरुवाहरूले पनि ‘आज राजाको दर्शन नगरी हुँदैन’ भनी शीर उचालेर मात्र नपुगेर पाइला समेत उचालिरहेका थिए, मानौंँ राजालाई देख्ने बित्तिकै उनीहरूका दुःखकष्ट हरण हुनेछन् । महाराजलाई चढाउन फूलका बिरुवाहरू रड्डीविरड्डी फूलहरू लिएर लहरै उभिरहेका थिए, अलिकति पनि हलचल नगरी, सायद आफूलाई परिरहेका असुविधाका बारेमा उनीहरू पनि राजा समक्ष बिन्ती बिसाउन चाहन्छन् । रूख, झाडी, फल, बिरुवा, चराचुरुड्डी, किराहरू सधै झैँ चिउँ चिउँ र झ्याउँ झ्याउँ कराएनन् किनभने त्यस दिन तिनीहरू ‘महाराज, महाराज, महाराज, जय, जय, जय’ भनेर कराइरहेको भान हुन्थ्यो । कोइली पनि ‘कुहु’ नगरी ‘अहो राजा’ भनी मात्र गाइरहेको थियो । साँच्चै त्यो दिनको चालढाल राजा सवारी हुने भएको हुँदा उल्लासमय थियो । असाध्यै मनमोहक, शीतल, रमाइलो वातावरण थियो ।

नुहाउने ठाउँमा नपुग्दै काकाभाइ दाइले नाक बजाउँदै भन्नुभयो– ‘नुहाउनलाई त हामी दुई जना मात्र जानुपर्ला । यी आइमाइहरूसित गएर राम्रो हुँदैन, साँच्चै राम्रो हुँदैन ।’

‘नुहाउने र ?’– मैले सोधें ।

आश्चर्य मानेझैँ मुख बिगारेर काकाभाइ दाइले भन्नुभयो– ‘अहो ! यहाँसम्म आएर कसरी ननुहाउने ? बाह्र वर्षे मेलामा… नुहाउनै पर्छ ।’

ममा पनि नुहाउने विचार आयो ।

नुहाउने ठाउँमा पस्ने बाहिरको ढोकामा नुहाउने मान्छेहरूको भीड ठूलो थियो । दशैँमा नेपाल भिœयाइने भोटका भेडा च्याङ्ग्रा भन्दा तिन दोब्बर बढी !

बल्ल कुण्डमा पस्ने मेरो पनि पालो आयो, भित्र गएँ । भित्र पसेको मात्र थिएँ, प्रहरीहरूले बाटा र डिक्चीले पानी छ्याप्न थाले, आफूले नुहाउनै नपर्ने गरी ! त्यतिखेर मैले भन्नै सकिनँ । म नुहाउन आएको कि प्रहरीबाट नुहाइन आएको ?

ढोकाबाट छिर्न ठेलमठेल भयो । चीन र भारतको बिच हलचल नै गर्न नमिल्ने गरी नेपाल च्यापिएर रहेझैँ हामी पनि च्यापियाैं । लामो समयको ठेलमठेलपछि बल्ल हामी भित्र पुग्यौँ । ढोकाबाट भित्र पसेपछि एउटा चोकमा दुईचार देवल थिए । भित्र पनि त्यत्तिकै भिड थियो । गोदावरीको कुण्डमा पुग्न त अझै अर्को ढोकाबाट भित्र पस्नुपर्ने थियो । एउटा पङ्क्तिमा पुरुष र अर्कोमा महिला, भित्र पस्ने ढोकादेखि पङ्क्तिमा उभिइरहेका, दुलोमा पसिरहेका दुरुस्त कमिलाहरूको ताँती झैँ थियो ।

हामी दुई जनाको सल्लाह भयो । सल्लाह भए बमोजिम पहिला काकाभाइ दाइ लुगा फुकालेर नाङ्गाहरूको पङ्क्तिमा उभिन जानुभयो, भोट खसाल्न उभिन गएको मानिस झैँ काकाभाइ दाइको लुगा लिएर म पर्खिबसेँ ।

एक घण्टा जति पछि काकाभाइ दाइको भित्र जाने पालो आयो । उहाँ भित्र जानुभयो र नुहाएर एक छिनपछि बाहिर आउनुभयो । अनि म पनि लुगा फुकालेर नाङ्गाहरूको पङ्क्तिमा उभिन गएँ, लुगा काकाभाइ दाइको जिम्मामा छोडेर ।

बल्ल कुण्डमा पस्ने मेरो पनि पालो आयो, भित्र गएँ । भित्र पसेको मात्र थिएँ, प्रहरीहरूले बाटा र डिक्चीले पानी छ्याप्न थाले, आफूले नुहाउनै नपर्ने गरी ! त्यतिखेर मैले भन्नै सकिनँ । म नुहाउन आएको कि प्रहरीबाट नुहाइन आएको ? जाडोले काँपेर मैले हरहर मात्र भन्न सकिरहेको थिएँ ।

‘हर–हर’ भन्दै जिउ माडेर नुहाउन भ्याएको पनि थिइन, ‘बाहिर निस्क’ भन्दै प्रहरीहरू मलाई धकेल्न थाले । म बाहिर निस्कँदै थिएँ, अरूले कुण्डको पानी अँजुलीमा लिएर पितृलाई चढाइरहेको देखेर ममा पनि आफ्नी दिवङ्गत आमाको नाममा एक अँजुली कुण्डको पवित्र पानी चढाउने श्रद्धाभाव पलायो । एक अँजुली पानी लिएँ तर आमालाई चढाउन नपाउँदै पछाडिको प्रहरीले टुप्पी समातेर मलाई तान्यो र गलहत्यायो । आफ्नी दिवङ्गत आमालाई चढाउन अँजुलीमा लिइसकेको जल पनि चढाउन नपाउँदै गलहत्याइँदा म छक्क परेँ । त्यतिखेर मलाई रिस उठ्यो या चित्त मात्र दुख्यो, म भन्न सक्दिनँ । बाहिर आउँदा काकाभाइ दाइ हुनुहुन्थेन । न त अघि जस्तै नुहाउने ठाउँमा पस्न लाइन बसिराखेका मानिसहरू नै थिए । त्यहाँ त राता टोपी लाउने प्रहरीहरू मात्र थिए ।

म बाहिर आएँ । बाहिर मूल सडक सुनसान थियो । कोही मान्छे नदेख्दा मलाई डर लाग्यो, केही भयो कि भनेर ! यसो नियालेर हेर्दा सबै मानिसहरू पर–परसम्म नदीका दुई किनारा झैँ विभक्त भएर बसिरहेका थिए । लामका मानिसहरू घाँटी तन्काई तन्काई, कुर्कुच्चा उचाली उचाली हेरिरहेका थिए । बिच बिचमा प्रहरीहरू थिए । दुई चार जना ठुल्ठुला भुँडी भएका मानिसहरू राष्ट्रिय पोसाकमा उभिएका देखिन्थे ।

मलाई कता जाऊँ, कता जाऊँ भयो । काकाभाइ दाइ यता हो कि उता, कसरी थाहा पाउने ? उहाँलाई भने नभेटी हुँदैनथ्यो । मेरो लुगा नै उहाँसित थियो । त्यसैले यता बसूँ कि उता जाऊँ हुँदाहुँदै नजिकैका मानिसहरूको भिडतिर म पनि कुदेँ र भिडमै मिसिन पुगेँ । मानिसहरूलाई पन्छाउँदै म काकाभाइ दाइलाई खोज्दै हिँडेँ । तर लाखौँ लाख मानिसहरूको अनुहार हेर्दा पनि काकाभाइ दाइको सीँ सीँ बज्ने नाक भएको अनुहार फेला परेन ।

म हैरान भएँ किनभने मेरो शरीरमा लगौँटी बाहेक अरू एउटा धागो पनि थिएन ।

लौ फसाद पर्यो ! यता काकाभाइ दाइ हुनुहुन्न, उतैतिर हुनुहोला । तर उता जाने कसरी ? एउटा समस्या ! ठुलै समस्या । बाटो छेकिरहेका त्यतिका प्रहरीहरू थिए । भटटट गोली चलिरहेको ठाउँमा गोली छलेर जान सकिएला तर पुलिसहरूको आँखा छलेर त्यहाँ जान सकिएला जस्तो लागेन । जङ्गलबाट घुमेर जाऊँ भन्नलाई पनि झन् गाह्रो । पिस्तोल, राइफल बोकेका सिपाहीहरूले घेराबन्दी गरिरहेका थिए । के गर्ने लौ फसादै प¥यो ! नाङ्गै मात्र नभएको भए त जे पर्ला पर्ला भन्ने थिएँ ।

पछि उतैतिर जाने ममा साहस आयो । के गर्ने ? प¥यो त्यस्तै । सके पुलिसको आँखामा छारो हालौँला भनेर भएभरको साहस निकालेँ, सक्दो होसियारी अपनाएँ र रिसल्ला घोेडा दौडे झैँ उतातिर कुदेँ । उतातिरको भिडमा पुग्न लागेकै बेला चार पाँच जना पुलिसहरूले ‘हे…हे…’ भन्दै कुद्दै मलाई लखेटे । समात्न पनि उनीहरूले मेरो कपालैमा समाते । मलाई अन्त समात्न पनि मिल्दैनथ्यो । मसँग लुगा नभएको हुँदा कपडा भन्नु नै मेरो शरीरमा एउटा लगौँटी मात्र थियो । लगौँटीको फेद त समात्न मिलेन । मेरो कपाल लुछ्दै तिनीहरूले जताबाट गएको थिएँ, त्यतै तिर फाले ।

ढुङ्गे बगरमा माछा पछारिए झैँ मानिसको भिडमा पुलिसबाट पछारिएको म, राष्ट्रिय रङ्गशालामा उसले एकचोटि त्यसले एकचोटि हानेर फुटबल गोल हुन पुगेजस्तै मानिसको भीडबाट बाहिर गोल हानिएँ ।

निक्कै समय गइसक्दा पनि राजा सवारी भएन । पर्खिरहेका सबै प्रजा गाह्रो मान्न थालेका थिए । राजा सवारी हुने बाटो हेरिरहेका आँखाहरू पनि थाके ।

म गोल मात्र हुन पुगेको होइन, मेरो सातोपुत्लो उड्यो । एक मनले बेकारमा आएछु भनी पछुताउन पनि थालेँ । धर्म गरूँ भनी आएको त पापले पो गाँज्यो । असाध्यै चित्त दुख्यो, दिवङ्गत माताको याद आयो । ‘मरिसकेको देहलाई स्वर्ग पुर्याउने भनी के बुद्धिले नुहाउन हिँड्यो’ भनी आमाले रिसाउँदै मसँग बोल्नुभएको आभास भयो । अर्कोतिर काकाभाइ दाइलाई सम्झेर म रिसले चूर भएँ । ‘आउँदिनँ’ भन्दाभन्दै ल्याउने पनि उही र अहिले लुगाको पोको बोकेर बेपत्ता हुने पनि उही ! लुगा लगेपछि देखिने ठाउँमा त बसिराख्नु नि । के गर्ने रिसको पोको मात्र मसित थियो, लुगाको पोको त काकाभाइ दाइसितै पर्यो !

त्यतिखेरै मानिसहरू अलिअलि हलचल गर्न थाले । ‘अहो ! महाराज सवारी भयो क्यारे ?’ भनी छिटछिटो फेरि म त्यही हुलमा पुगेँ, गोल हुन पुगेको फुटबल गोलपोस्ट पछाडि रहेका बच्चाहरूले हानेर मैदानमा फर्काए जस्तै । किनभने शरीरमा लगौँटी एउटा मात्र भए पनि राजाको अनुहार पुलुक्क मात्र भए पनि हेर्ने इच्छा मसित हराएको थिएन ।

तर महाराज सवारी भएको होइन रहेछ ! म जस्तै लगौँटी मात्र लगाएको मान्छेलाई उताबाट यता आउन खोज्दा पुलिसले मलाई झैँ गोल हान्न मान्छेको भीडसम्म तानेर पो लगेको रहेछ !

त्यसरी उताबाट यता, यताबाट उता जान खोज्ने लगौँटी मात्र भएकाहरूको हविगत देखेर अरू नाङ्गाहरू मुखै निन्याउरो पारी स्तब्ध भई केवल ठिड्ड उभिइरहे । सबैको ओठ सुकिसकेको थियो । त्यतिखेर सबैको मुख काँपिरहेको थियो, भोकाएका थिए यद्यपि राजाको एकचोटी दर्शन गर्ने आशा र इच्छाले गर्दा दुःख, कष्टलाई त्यति ठुलो ठानिएन । निक्कै समय गइसक्दा पनि राजा सवारी भएन । पर्खिरहेका सबै प्रजा गाह्रो मान्न थालेका थिए । राजा सवारी हुने बाटो हेरिरहेका आँखाहरू पनि थाके । मेरो छेवैमा बस्ने एकजना नाङ्गो मान्छे कराउन थाल्यो– ‘होइन, राजा सवारी हुने समय नभएको भए नुहाउनेहरूलाई नुहाउन दिएको भए त भइहाल्थ्यो नि ! राजा सवारी हुने भनी ढोका बन्द गरेको, बाटो बन्द गरेको तीन घण्टा भइसक्यो ।’

‘हो त नि बिना काम कति बेरसम्म उभिइरहने ?’– अर्को नाङ्गो पनि थरथर काँप्दै कराउन थाल्यो – ‘हेर्नुस न, यताको एकजना पनि जान दिएको होइन । मेरो लुगै उता पर्यो । के गर्ने, कति नाङ्गै बसिराख्ने ?’

एकजना बुढीले कारुणिक स्वरमा बिन्ती गरिन्– ‘पुलिस दाइ, बिन्ती, मलाई उता जान दिनुस् । अघि भिड हटाउँदा मेरी सानी छोरी उता परिन् । उनी ‘बुबा, बुबा’ भनी रोइराखेकी होलिन्, उनलाई भिडले पो कुल्च्यो कि ! उनलाई घर जान आउँदैन । मेरो घर काठमाडौँ बाहिर हो । बिन्ती पुलिस दाइ ।’

पुलिसले कुरै सुनेन, मुन्टो बटार्यो । त्यतिखेर एउटा बच्चा रोएको आवाज सुनियो । आमा जाने । ‘आमा ! मलाई लिन आउनुस् । हँ…..हँ…।’

बच्चाको रुवाइलाई पनि पुलिसले नसुनेझैँ गर्यो ।

बुबा एकातिर परेकाहरू, छोरी अर्कोतिर परेकाहरू, श्रीमती एकातिर, श्रीमान् अर्कोतिर परेकाहरू, लुगा हराएकाहरू, खाजा ठेगान नभएकाहरू मात्र थिए सबै ! तर के गर्ने सबै विवश थिए– पुलिसको लठ्ठी र सिपाहीहरूको बन्दुकका अगाडि । तर सहने सीमासम्म मात्र मान्छेले सहने रहेछ । आफूलाई साह्रै साह्रै अप्ठ्यारो भएपछि लठ्ठी, बन्दुक त के एटम बमले दबाउन खोजे पनि दबाउन नसकिने रहेछ । त्यसैले त होला, त्यतिका पुलिसहरू अगाडि भए पनि मानिसहरू चल्मलाउन थालेका । मानिसहरू एकले अर्कोलाई घचेट्दै थिए । जति घचेट्दै गयो त्यति मानिसहरू अगाडि सर्दै गए । एकछिनपछि पुलिसले रोकेर रोक्न नसक्ने गरी मानिसहरू हुल बाँधरै उठ्न थाले ।

पुलिसले समातेका जतिलाई त धमाधम चुट्न थाल्यो । हुलले किचेको एकजना बुढोलाई पुलिसले लात्तीले हान्यो । तर बुढो एक्लै नभई साथमा उनकी बुढी पनि भएकीले पाखुरा समातेर उठाउँदै असह्य भएर उनी चिच्याइन्– ‘मर्न पनि नसकेका पुलिसहरू ।’

‘के भनिस् बुढी ?’ पुलिसले मारुँला जस्तो गरी लठ्ठी सोझ्याउँदै भन्यो ।

‘तेरो आँखा फुट्यो कि भनेको नि । सबैले उसलाई कुल्चेको देखेनौ । अझै उसैलाई हो पिट्ने ? तिमी मान्छे कि पशु हौ, हँ ?’ बुढीले नडराई भनिन् ।

‘तैंँ पशु ।’ – कुुटुँला झैँ गरेर पुलिसले भन्यो–‘महाराज सवारी हुने भन्ने तँलाई थाहा छैन ?’

‘तिमी जस्तो अन्धो र विवेकहीन भए पो हामीलाई थाहा नहुनु ।’ बुढीले रिसाउँदै भनिन् ।

‘थाहा छ भने किन भीडभाड ?’ पुलिसले पनि दाह्रा किट्दै हकार्यो ।

‘भीडभाड त तिमीहरूले गर्यौ ।’ बुढीले नडराई अघि सर्दै भनिन् –‘कसैलाई जानै नदिई बाटो छेकेर, खानै नदिई, सास्ती गरेर राजा सवारी हुने भन्दैमा तिमीहरूले मनपरी गर्न पाउँछौ ?’

‘ओई, त्यसलाई जुरो समातेर तानेर लग् ।’ सँगै आएको पुलिसको हवल्दारले आदेश दियो– ‘नचाहिने कुरामा कराउँदै छे, जिब्रै काट्नुपर्ने बुढी ।’

मैले चारैतिर आँखा दौडाएँ । अघि जस्तै रूख, बिरुवा, खोला, पानी, हावाले खुसी मानिरहेको पाइनँ । रूखहरूले मुन्टो बटारे, फूलका बोटहरूले आँखा चिम्ले । खोलाको कलकल सुनिएन, हावा रोकियो ।

बुढीले केही भन्न नपाउँदै अगाडिको पुलिसले उनलाई तानेर लग्यो । बुढीलाई लगेपछि ‘मलाई पनि लग !’ भन्दै बुढो चिच्याउन थाल्यो । बुढोलाई पनि पुलिसले चुट्दै लग्यो । हेरिरहनेहरूको मन रोयो । चारैतिरको जङ्गल यो अन्याय हो भन्दै चिच्यायो । नजिकै उभिइरहेका दुई चार जना आइमाईहरू ‘भैगो, राजाको दर्शन नगरी नहुने भन्ने के छ र !’ भन्दै मुन्टो बटारेर गए । ‘जाऔँ जाऔँ, हामी पनि जाऔँ । लुगा नभए जङ्गलै जङ्गलबाट भए पनि जाऔँ । जाऔँ, दर्र्शन गरेर के पाइन्छ र जाऔँ, त्यति टाढासम्म पुग्नु छ !’ –भन्दै अरू पनि आआफ्नो बाटो लागे । म पनि भिडबाट बाहिर निक्लें किनभने भोकले मेरो आन्द्राभुँडी सुकिसकेको थियो ।

मैले चारैतिर आँखा दौडाएँ । अघि जस्तै रूख, बिरुवा, खोला, पानी, हावाले खुसी मानिरहेको पाइनँ । रूखहरूले मुन्टो बटारे, फूलका बोटहरूले आँखा चिम्ले । खोलाको कलकल सुनिएन, हावा रोकियो । हुलका हुल मानिसहरू फर्केरसम्म पनि नहेरी बाटो नभए पनि जङ्गलै जङ्गल, खेतै खेत, पहाडै पहाडबाट बाटो बनाउँदै हिँडिरहेका थिए । म पनि जङ्गलै जङगलबाट विना पोसाक घर फर्कें । घर नपुग्दै ठुल्ठुलो आवाजमा रेडियोले समाचार फुकिरहेको सुनेँं– ‘आज दिउँसो बाह्र वर्षे मेलामा महाराजाधिराज सवारी होइबक्स्यो । मौसूफको दर्शन गर्दै मेलामा सहभागी लाखौँलाख प्रजाले सडक किनारमा बसी हर्षले गदगद हुँदै आफ्ना प्यारा राजाको स्वागत अभिवादन गरे ।’

यो कथा नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको हो ।

प्रतिकृयाहरु
Loading...