प्रहरीकै संरक्षणमा अपराधः ट्याक्टरमा खाद्यान्न लेखेर मरीच, केराउ र छोहडा तस्करी

पर्सा । लकडाउन खुकुलो भएसँगै भारतीय सीमा क्षेत्रमा तस्करी मौलाउन थालेको छ । सरकारीस्तरमा बोर्डर सिलबन्दी गरिएको भनिए पनि व्यवहारमा देखिँदैन ।

भारतीय सीमा क्षेत्रमा खटिएका भारतीय एसएसपीहरू तीन–तीन महिनामा परिवर्तन हुने भएका कारण सीमा क्षेत्रमा खटिएका बेला तस्करी गराएर उनीहरू रकम कमाउन उद्दत हुने भएका कारणले पनि भारतीय एसएसपीबाट नेपालतर्फ हुने तस्करी र नेपालबाट भारततर्फ हुने तस्करीमा कुनै रोकावट छैन ।

अर्कोतर्फ नेपाली पक्षको पनि त्यही अवस्था छ । नेपाल प्रहरीका हकमा मातहतका थाना–चौकीहरूमा बढीमा ६ महिनासम्म राख्ने र आन्तरिक सरुवा गर्ने नीति रहेको छ भने सशस्त्र प्रहरीका हकमा गणका एसपी, गुल्मका डिएसपी र बिओपीका निरीक्षकहरू यही असार मसान्तसँगै सरुवा हुने गर्दछन् । सशस्त्र प्रहरीमा असार मसान्तमा सरुवा गर्ने नीति रहेको छ ।
एक वर्ष पुग्ने र सरुवाको मिति नजिकिँदै गर्दा पनि सीमामा खटिने बिओपीका निरीक्षकहरू अहिले कमाउधन्दामा लागेका छन् । यसको ज्वलन्त उदाहरण बनेको छ– भिस्वाको सवैठुवा नाकाको तस्करी धन्दा ।

भारततर्फ सिक्टा पर्दछ भने नाकालाई सवैठुवा नाका भन्ने गरिन्छ । सशस्त्र प्रहरीको सवैठुवा बिओपी रहेको छ भने प्रहरीको असई बस्ने चौकी छ । तर, तस्करहरूले सशस्त्रको बिओपीका निरीक्षक, चौकीका प्रहरीका असई र भिस्वास्थित प्रहरी चौकीका सई प्रेम खत्रीलाई मिलाएर अहिले यो नाकाबाट ठूलो मात्रामा तस्करी चलिरहेको छ ।

तस्करीको ठेक्का पाएका छन् हरि कुशवाहले । उनको देखावटी धन्दा इन्ची टेप हो । उनले अहिले वीरगञ्जबाट ट्याक्टरमा खाद्यान्न लेखेर सामानहरू भिस्वा ओसार्ने गर्दछन् तर हरेक ट्याक्टरमा उनले २–२ बोराका दरले मरीच, केराउ र छोहडा वीरगञ्जबाट भिस्वा पुर्याउँछन् र सवैठुवा नाकाबाट प्रहरी सेटिंङमा भारततर्फ तस्करी गर्दै आएका छन् । वीरगञ्जबाट २५ सय रूपैयाँ ट्याक्टरको भाडा तिरी उनले ती सामानहरू भिस्वा पुर्याउँछन्, अवस्था हेरेर दैनिक १ देखि २ पटकसम्म ।

हरेक ट्याक्टरमा न्यूनतम २–२ बोराका दरले मरीच, केराउ र छोहडा हुने गर्दछ । त्यो जम्मा गरिसकेपछि उनले सवैठुवा नाकाबाट भारततर्फ तस्करी गर्दछन् । हरि कुशवाह यसअघि पनि वीरगञ्जको भिस्वामा चर्चित तस्करका रूपमा चिनिएका व्यक्ति हुन् । उनले झण्डै १० वर्षअघिदेखि यो धन्दा गर्दै आएका थिए । नवजनप्रहारले लेखेकाे छ ।

केही वर्षअघि भारतको नरकटियागञ्जमा उनीमाथि कुटपिटमात्रै भएन कि उनको सामान भारतको कस्टमले समेत समात्यो । उनीमाथि कुटपिट हुँदा उनको हातसमेत भाँचिएको थियो । त्यसपछि विदेश पलायन भएका उनी ४ वर्ष विदेशमा काम गरी फर्किएपछि पुनः यही तस्करीको धन्दामा सक्रिय हुँदै आएका छन् ।

भिस्वाका प्रहरीका सई प्रेम खत्री तस्करदेखि व्यापारीहरूसँग रकमको आफैँ डिल गर्दछन् र मोटरसाइकलमा एउटा केटालाई पछाडि राखी आफैँ ती तस्कर र व्यापारीका सम्पर्क स्थानमा पुग्ने गर्दछन् । यो कुरा जिल्लाका एसपी गंगा पन्तलाई थाहा नभएको जिप्रकास्थित एक जुनियर प्रहरी अधिकृतले जानकारी दिए । उनले भने–‘एसपी मेडमलाई थाहा भएको भए जिल्लाबाट गोप्यरूपमा टोली पठाएर तस्करीको सामान पक्राउ गरिसक्नु हुन्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *