सेल्टासँग बराबरी पछि ला लिगामा बार्सिलोनाको उपाधि यात्रा कठिन

काठमाडौं । बार्सिलोनालाई यस वर्ष ला लिगाको उपाधि यात्रा कठिन बनेको छ । शनिबार सेल्लाभिगोले बार्सालाई बराबरीमा रोकेपछि बार्साको उपाधि यात्रा कठिन भएको हो ।

दोश्रो स्थानको रियल मड्रिड एक अंकले पछि छ भने उसले एक खेल पनि कम खेलेको छ । बार्साको घरेलु मैदानमा भएको शनिबारको खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो ।

खेलको २० औं मिनेटमा कप्तान लियोनल मेसीले हानेको फ्रि किक बललाई लुईस स्वारेजले हेड मार्फत गोल गरे । दोश्रो हाफको ५० औं मिनेटमा सेल्टाका लागि स्मोलोभले गोल फर्काए । ६७ औं मिनेटमा बार्साले स्वारेजकै गोलबाट खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन ।

 खेलको अन्तिम समयमा सेल्टाले डि बक्स नजिक पाएको फ्रि किकमा कप्तान लागो आसपासले दर्शनीय गोल गरेर खेललाई बराबरीमा ल्याए । खेलमा अधिकाँश समय बल नियन्त्रणमा लिएपनि बार्सिलोनाले परिणाम आफ्नो पक्षमा पार्न नसक्दा उपाधिको बाँकी यात्रा कठिन मोडमा पुगेको हो ।

लिगका कूल ३८ खेल मध्ये बार्सिलोनाले ३२ खेल खेलिसकेको छ भने रियल मड्रिडले ३१ खेल पुरा गरेको छ । बाँकी खेल सवैमा जित हात पारेमा यो सिजनको ला लिगा उपाधि रियलको पोल्टामा पर्नेछ । बार्सिलोनाले उपाधि रक्षा गर्नका लागि रियलले बाँकी केही खेलमा बराबरी वा हार बेहोर्नुपर्नेछ भने बार्साला अबका सबै खेल जित्नुपर्ने छ ।

तर, लिगमा रियलले शानदार खेल पस्किरहेको र उसले अब खेल्ने टोली पनि औषत रहेकाले यसपटक ला लिगाको उपाधि रियलकै पोल्टामा जाने संकेत देखिएको छ ।

सेल्टासँगको खेलमा कप्तान लियोनल मेसी आफ्नो करिअरको ७ सय औं गोल गर्नबाट आज पनि बन्चित भए । ६९९ गोल संख्या पुर्याएका मेसीका समर्थकहरुले आजको खेलमा मेसीले थप एक गोल गर्ने र उनको गोल सँख्या ७ सय पुग्ने अनुमान गरेका थिए । तर, उनले खेलमा पाएका राम्रा मौका समेत सदुपयोग गर्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *