‘९ महिना निर्वाध चलेकाे अर्थतन्त्र ३ महिनामा ध्वस्त भयो भनेर सरकारले झुट बाेल्याे’

काठमाडौं । सरकारले कोरोनाले देशको अर्थतन्त्र ध्वस्त पार्यो भनी झुटको खेती गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । आज डा. कोइरालाले आर्थिक वर्षको झण्डै ९ महिना निर्वाध चलेको अर्थतन्त्रलाई ३ महिनाको वहानामा सरकारले ध्वस्त भएको भनेर झुटो बोलेको जिकिर गरे ।

फेसवुकमा स्टाटस राख्दै कांग्रेस नेता कोइरालाले भनेका छन्–‘आर्थिक वर्षको झण्डै ९ महिना निर्वाध चलेको अर्थतन्त्रलाई ३ महिनाकोे वहानामा सरकारले कोरोनाले देशको अर्थतन्त्र ध्वस्त पार्यो भनी झुठको खेती गर्यो ।’

डा. शेखर काेइराला, फाेटाे फायल ।

सरकारले किसानलाई समयमै मल, वीउ र उपकरण समेत दिन नसकेको बताउँदै सरकारले भविष्यमा सलहको वहानामा कृषि उत्पादन घट्यो भनेर भन्न सक्नेमा आशंका व्यक्त गरेका छन् । किसानले वर्षेनी समयमा वीउ, मल र कृषि उपकरण नपाउँदा दिन प्रतिदिन मुलुकको उत्पादन घट्दो छ ।

‘किसानलाई समयमै मल, वीउ र उपकरण दिन नसकेको सरकारले भविष्यमा सलहको वहानामा कृषि उत्पादन घट्यो भनेर नभनोस ।’ उनले सरकारलाई सचेत गराएका छन् ।

हिजोबाट नेपालमा अफ्रिकी किरा सलहको प्रवेश भएको छ । भारत हुँदै नेपाल प्रवेश गरेका सलहले तराई र पहाडमा लाखौं हेक्टरमा लगाइएको खाद्यान्न नष्ट गर्ने विज्ञहरुले धेरै अगाडी बताइरहेपनि सरकारले वेवास्ता गर्दै आएको थियो ।


त्यसो त बर्तमान सरकारका काम कारवाही प्रति डा. कोइराला सन्तुष्ठ छैनन् । भारतले नेपाली भूमी अतिक्रमण गरेको विषयमा सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीलाई समेटेर नक्सा निकाल्नु र राष्ट्रियताका सवालमा सबै दल र जनतालाई एक जुट पार्नु वाहेक ओली सरकारले अढाई वर्षमा कुनै उपलब्धी मुलक काम गर्न नसकेको डा. कोइरालाको ठहर छ ।

भारतसँगको सिमा विवादमा पनि ओली सरकार कुटनीतिक पहल गर्न असफल भएको डा. शेखरको भनाई छ । उनले ओली सरकार भ्रष्टाचारको दलदलमा फस्दै गएको र निरंकुशता तर्फ अग्रसर भएको बताउँदै आइरहेका छन् ।

कोरोना संक्रमण सुरु हुनु केही समय अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेट गरेका डा. कोइरालाले ओलीलाई सरकार सञ्चालनका लागि आवश्यक सल्लाह सुझाव समेत दिएका थिए ।

तर, ओलीले त्यसपछि आफ्नो कार्यशैली सुधार्नुको सट्टा झनझन विगारेका छन् । पछिल्लो समय ओली सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा पूर्ण असफल भएको डा. कोइरालाको ठहर छ ।क्वारेन्टाइन ब्यवस्थापनमा होस् वा विदेशबाट नेपाली नागरिक ल्याउने सवालमा अथवा कोरोना परीक्षणमा सरकार असफल भएको डा. कोइरालाको तर्क छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरण, ललिता निवास जग्गा प्रकरण, यति समुह प्रकरण, सभामुख प्रकरण, निर्मला पन्त प्रकरण र पछिल्लो समय रुकुम चौरजहारी प्रकरण र कोरोना स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओली सरकार मुछिनुले सरकार असफल भएको डा. कोइरालाको भनाई छ । यस विषयमा उनले विभिन्न समयमा अभिब्यक्तिहरु दिँदै आइरहेका छन् ।

देशका जनता कोरोना महामारीसँग जुधिरहेको बेला सरकार भने कोरोना स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्न उद्यत रहेको भन्दै डा. कोइरालाले ओली सरकारको चर्को आलोचना गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *