क्वारेन्टाइनमा युवक बेहोस भएको २४ घण्टा बित्यो, अझै भएन उपचार

काठमाडौं । कैलालीको गौरीगंगाका एक युवकले धनगढीबाट नेपालगञ्ज पुगाउँदा समेत उपचारका लागि भेन्टिलेटर पाएका छैनन् । २२ वर्षीय ती युवक बेहोस भएको २४ घण्टा बितेको छ तर, अझै उपचार भएको छैन ।

भारतबाट फर्किएर गौरीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेको बेला बेहोस भएका २२ वर्षीय युवकको उपचारका लागि अझै भेन्टिलेटर नभेटिएको उनका आफ्न्तले बताएका छन् । शनिबार बिहान सेती प्रादेशिक अस्पताल पुगाइएका युवकलाई सर्पले टोकेको भन्दै समान्य उपचारपछि भेन्टिलेटर खाली नभएको भन्दै नेपालगञ्ज रेफर गरिएको थियो ।

धनगढीबाट उनलाई राती ९ बजे बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो तर, मेडिकल कलेजले उनलाई सरकारी अस्पतालमा लैजानु भनेपछि भेरी अञ्चल अस्पताल, नेपालगंज पुर्‍याइएको हो । त्यहाँपनि भेन्टिलेटर खाली नहुँदा उपचार गर्न नसकेको सँगै रहेका युवकका दाजुले गुनासो गरे ।

अस्पतालका डाक्टरले उनको जाँच गरेका छैनन् । अहिले बिरामीलाई सामान्य वेडमा राखिएको छ । उनी अझै वेहोश छन् । जेठ २६ गते भारतबाट फर्किएका युवक गौरीगंगा नगरपालिकाको वडा नम्बर ४ मा रहेको सिद्धार्थ विद्या निकेतनको क्वारेन्टाइनमा बसिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *